शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५’ सार्वजनिक गरेको छ। गत जेठ १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
मन्त्रिपरिषद्को ०७५ असार ३२ को निर्णयबाट तत्कालीन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलको अध्यक्षतामा २४ सदस्यीय उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो। उक्त आयोगले पाँच महिना सात दिन समय लगाएर विभिन्न ३१ वटा परिच्छेदमा प्रतिवेदनलाई संगठित गरी ०७५ माघ १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीसमक्ष पेस गरेको थियो।
कुल ४९९ पृष्ठ रहेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षा मन्त्रालयमा हालै मात्र प्राप्त भएको थियो। बिहीबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका अध्यक्ष तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोख्रेल आयोगका १६ सदस्यको उपस्थितिमा भएको छलफल कार्यक्रममा प्रतिवेदनलाई सर्वसाधारणलगायत सबैको जानकारीका लागि मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्न सुझाव दिएका थिए।
पोख्रेलको अध्यक्षतामा गठित २४ सदस्यीय आयोगले प्रतिवेदन सरकारलाई बुझाएको थियो। सदस्यमा पूर्वशिक्षामन्त्रीहरू डा. गंगालाल तुलाधर र डिआर पौडेल थिए। अन्य सदस्यहरूमा डा. उषा झा, संविधानसभा सदस्य श्यामकुमार श्रेष्ठ, प्रा.डा. मीनबहादुर विष्ट, प्रा.डा. विद्यानाथ कोइराला, प्राडा टंकनाथ शर्मा, प्राडा मनीष पोखरेल, प्राडा रामस्वार्थ राय, डा. सुशन आचार्य, डा. बाबुराम अधिकारी, विमलकुमार फुँयाल, चक्रमान विश्वकर्मा, प्राडा सुजनबाबु मरहट्ठा, नन्दकुमार थापा मगर, डा. कृष्णप्रसाद पौडेल, प्रा. भारती जोशी, प्राडा शारदा थपलिया, रमेशकुमार सिलवाल, लक्ष्मण शर्मा, डा. सदानन्द कँडेल, बाबुराम थापा, खगराज बराल (तत्कालीन शिक्षा सचिव) सदस्य सचिवको रूपमा मन्त्रालयका सहसचिव वैकुण्ठप्रसाद अर्याल थिए।
प्रतिवेदन सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रतिवेदनका सकारात्मक र सान्दर्भिक पक्ष कार्यान्वयनमा लैजाने बताइन्। ‘प्रधानमन्त्रीज्यूले गम्भीरतापूर्वक यो प्रतिवेदन खोजेर शिक्षा मन्त्रालयलाई प्रदान गर्नुभएको हो। उहाँकै नेतृत्वमा सरकारले प्रतिवेदनका सान्दर्भिक र सकारात्मक सिफारिसहरू कार्यान्वयनमा लैजानेछ,’ उनले भनिन्।