देवदहमा भेटियो साढे तीन मिटर गहिरो प्राचीन इनार

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

स्थानीयहरूले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र दाबी गर्दै आएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा साढे तीन मिटर गहिरो इँटाको प्राचीन इनार भेटिएको छ।

देवदह नगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनी विकास कोष र पुरातत्व विभागले जेठ १६ गतेदेखि सुरु गरेको उत्खननका क्रममा पूर्ण आकारमा रहेको प्राचीन इँटाको इनार भेटिएको हो।

गत वर्ष लुम्बिनी विकास कोषले उत्खनन गर्दा इँटाको माथिल्लो भाग मात्रै देखापरेको थियो। २ मिटर चौडाइ र साढे ३ मिटर गहिरो इँटाको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले जानकारी दिए।

‘गत वर्ष इनारको माथिल्लो भाग मात्रै भेटिएको थियो। यो वर्ष इनारको बेस (तल्लो भाग)सम्म जाने योजनाअनुसार उत्खनन गर्दा इनारको पूर्ण आकार भेटिएको छ,’ उप्रेतीले भने। उनका अनुसार प्राचीन इनार भए पनि कुन समयको हो भन्ने कुरा ‘कार्बनडेटिङ’पछि मात्रै यकिन हुनेछ।

इनारको दक्षिणतर्फ प्राचीन पर्खालका भग्नावशेषहरू भेटिएको उप्रेतीले बताए। उत्खननका क्रममा खयरडाँडा क्षेत्रमा माटाका भाँडा, प्राचीन इँटाले लगाइएको पर्खालका भग्नावशेषहरू भेटिएको छ। स्थानीयहरूले पुरातात्विक स्थल भन्ने थाहा नहुँदै इँटाहरू लगेको र त्यसरी इँटा निकाली खाडल बनेका संरचनाहरू देखिएको उप्रेतीले बताए।

बुद्धको मावली कहाँ हो भन्नेबारेमा अहिले नै निर्क्योल गर्न नसकिने बताउँदै उनले पुरातात्विक उत्खनन र अन्वेषण अझै बढाउनुपर्ने बताए। बुद्धका समय र त्योभन्दा अगाडिका माटाका भाँडाका टुक्राहरू पण्डितपुरमा भेटिएको छ। रुपन्देही देवदहका स्थानीयहरूले भने बुद्धको मावली देवदहको दरबार नै यहाँ रहेको दाबी गर्दै आएका छन्।

प्राचीन कोलिय राज्यका क्षेत्रहरूमा निरन्तर उत्खननका लागि अध्ययनको आवश्यकता रहेको पुरातत्व विभागका अधिकृत राजेश परियार बताउँछन्। उनले खयरडाँडामा उत्खननबाट प्राप्त ऐतिहासिक तथ्य र प्रमाणलाई अध्ययन गरी आगामी दिनमा थप कदमहरू अघि बढाउने बताए।

देवदह नगरपालिका– ९ स्थित खयरडाँडा क्षेत्रमा देवदह नगरपालिकाको १० लाख बजेटबाट अहिले उत्खनन गरिएको हो। स्थानीय पालिकाको साझेदारीमा उत्खनन गरिएको यो पहिलोपटक हो।

लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख वरिष्ठ पुरातत्व अधिकृत हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्व अधिकृत राजेश परियार, लुम्बिनी विकास कोषका नमराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तरहुसेन मुसलमान र विज्ञका रूपमा शुभेच्छा पोख्रेल उत्खननमा खटिएका छन्। उत्खनन अझै एक महिना चल्ने बताइएको छ।

सुझावित समाचार