त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराल दुर्गम क्षेत्रका आंगिक क्याम्पसको अनुगमनमा निस्किएका छन् । सचिवालयको टोलीसहित उनी मंगलबार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही क्याम्पसको अनुगमनमा निस्किएका हुन् ।
उनले क्याम्पसहरूको भौतिक पूर्वाधारको वस्तुस्थिति बुझ्ने, विद्यार्थी संख्या र शैक्षिक वातावरण हेर्ने र क्याम्पसहरूलाई आगामी बजेटमा कसरी समेट्नेलगायत विषयको अध्ययन गर्नेछन् । उपकुलपति बरालले डोटीको ज्योति क्याम्पस, डडेल्धुराको डडेल्धुरा क्याम्पस, महेन्द्रनगरको सिद्धनाथ क्याम्पस, जुम्लाको जुम्ला क्याम्पस, नेपालगन्जको महेन्द्र क्याम्पस, दाङको महेन्द्र क्याम्पस, रुपन्देहीको बुटवल क्याम्पसलगायतको अध्ययन तथा अनुगमन गर्नेछन् ।
हाल त्रिविअन्तर्गतका अधिकांश क्याम्सपमा विद्यार्थी संख्या घट्दै गइरहेको छ । क्याम्पसहरूले सञ्चालन गरेका पाठ्यक्रम र शैक्षिक कार्यक्रमबारे अध्ययन गर्न उपकुलपति बराल स्थलगत अनुगमन गएका हुन् । उपकुलपति बरालका स्वकीय सचिव राजमान महर्जनका अनुसार क्याम्पसहरूले कुन आधारमा बजेट माग्छन्, सही कामका लागि बजेट माग गरेका हुन्÷होइनन्, भौतिक पूर्वाधारको अवस्थालगायत विषयबारे अध्ययन गर्न उपकुलपति बरालसहित चारजनाको टोली अनुगमन निस्किएको छ ।