मापदण्डअनुसार कालोपत्रे नभएपछि वडाध्यक्षले भत्काए सडक

बुधबार, २३ जेठ, २०८१
डिजिटल संस्करण

पुनः कालोपत्रे गर्न सडक विभाग र ठेकेदारलाई निर्देशन

ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डको कालेपत्रे कमसल एवं मापदण्डविपरीत भएको भन्दै गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेले भत्काइदिएका छन् । सडक मोटाइ नपुगेको, लेभलिङ नमिलेको, पानी परेको अवस्थामा समेत ठेकेदार कम्पनीले कालोपत्रे गरेको भन्दै वडाध्यक्ष घिमिरे नेतृत्वको जनप्रतिनिधि र स्थानीयको टोलीले मंगलबार भत्काइदिएको हो । 

निकै पातलो कालोपत्रे गरेपछि खुट्टाले टेक्दासमेत उप्किने र धसिने अस्वस्थामा छ । गोदावरी–फुल्चोकी क्षेत्रको १९ किलोमिटर सडकमध्ये अहिले साढे तीन किलोमिटरमा विभागले कालोपत्रे गरेको हो । चार दिनअघि मात्रै गरेको पिच झाराटारी मात्रै भएको र उप्किन थालेपछि वडाले अनुगमन गरेको थियो । मंगलबार वडाध्यक्ष घिमिरेसहितको टोली पुगेर सडक विभाग र ठेकेदार पक्षलाई सडक पुनः कालोपत्रे गर्न निर्देशन दिएको छ ।

‘जुनसुकै निकायले गरेको काम भए पनि गुणस्तरीय हुनुपर्छ, हाम्रो वडामा बनेको सडक भएकाले हामीले अनुगमन गरेका छौँ, एकदम कमसल र झाराटारी कालोपत्रे गरिएको रहेछ,’ वडाध्यक्ष घिमिरेले भने, ‘यदि त्यो सबै कालोपत्रे उप्काएर नयाँ पिच गरिएन भने डोजर लगाएर भत्काउँछु, जनताको करको दुरुपयोग गर्न पाइँदैन ।’ उनका अनुसार ठेकेदार कम्पनीले सडक भत्काएर पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ । 

सडक डिभिजन कार्यालय ललितपुरका प्रमुख मुकुन्द अधिकारीले कालोपत्रे गरेको सडक गुणस्तरहीन भएमा सडक भत्काएर पुनः कालोपत्रे गर्न लगाइने बताए । ‘गुनासो आएपछि मंगलबार डिभिजनबाट कर्मचारी अनुगमनमा पठाएका छौँ, कमसल भएमा कारबाही हुन्छ ।’ 

सुझावित समाचार