पालिका अध्यक्षकाे चोरी–डाँका प्रकरण : अनुसन्धानमै सीमित सप्तरी प्रहरी

मंगलबार, २२ जेठ, २०८१
डिजिटल संस्करण

सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहित चारजनाविरुद्ध चोरी–डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको दुई महिना बितिसक्दा पनि सप्तरी प्रहरी घटनाको अनुसन्धानमै सीमित रहेको छ।

गाउँपालिका अध्यक्ष यादवसहित चारजनाले हातपात गर्दै २५ हजार रुपैयाँ पर्ने मोबाइल लुटेको भन्दै स्थानीय किरणकुमार जयसवालले गत वर्ष २६ असारमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। तर, प्रहरीले जाहेरी दर्ता नगरेपछि रुपनी गाउँपालिका– १ का जयसवाल उच्च अदालत जनकपुर राजविराज इजलास गएका थिए।

लुटिएको भनिएको मोबाइलमा गाउँपालिका अध्यक्ष यादवको भ्रष्टाचारको प्रमाण रहेको जसयवालको दाबी छ। यादवसहित चारजनाले हातपात गर्दै ‘कमिसन लिएको प्रमाण रहेको’ मोबाइल लुटेको भन्दै कारबाही प्रक्रिया अघि बढाउन माग गरी उनले गत साउनमा मुद्दा दायर गरेका थिए।

‘गाउँपालिका अध्यक्ष यादवले मच्चाएको लुटको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निहुँमा पटकपटक गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिँदै आएको, २३ असार रातिको समयमा गाउँपालिकाको स्कार्पिओ दुर्घटनामा पर्दा सामाजिक सञ्जालमा लेखेकै निहुँ बनाएर २४ गते हातपात गर्दै कमिसनको प्रमाण रहेको २५ हजार रुपैयाँ पर्ने मोबाइल चोरी–डाँका गरेको’ अदालतमा दायर मुद्दामा भनिएको थियो।

सो मुद्दामा सुनुवाइ गर्दै गत २२ मंसिरमा न्यायाधीशद्वय वामदेव ज्ञवाली र राधाकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाममा परमादेश जारी गर्दै मुद्दा दर्ता गरी छानबिन गर्न भनेपछि प्रहरीले मुद्दा दर्ता गरेको हो। तर, मुद्दा दर्ता भएको दुई महिना बितिसक्दासमेत प्रहरी अनुसन्धानमै सीमित भएको भन्दै जाहेरकर्ताले असन्तुष्टि जनाएका छन्।

सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिद्धि बज्राचार्यले भने घटनाको अनुसन्धान भइरहेको बताए। उनले भने, ‘अनुसन्धान एक–दुई दिनमा हुँदैन, कानुनको हद म्यादभित्र हुन्छ।’

रुपनी गाउँपालिकाका अध्यक्ष यादवसहित राम यादव, पीताम्बर यादव, सरोज यादवविरुद्ध जयसवालले जाहेरी दर्ता गरेका हुन्। पीताम्बर निवर्तमान वडाध्यक्षसमेत हुन्।

सुझावित समाचार