दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नेपाल सरकारले १६ महिनादेखि २३ महिना उमेर समूहका बालबालिकालाई नि:शुल्क उपलब्ध गराउँदै आएको सबै १३ वटा रोगविरुद्धको खोप नगरपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि सोमबार नगरपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।
नगरपालिकाभित्रका सबै पाँच सय बालबालिकाले सरकारबाट नि:शुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएको सुनिश्चित भएको नगर प्रवक्ता एवं वडा नम्बर ५ लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत नगरपालिकाका सबै बालबालिकाले पूर्णखोप पाएको सुनिश्चित भएसँगै नगर स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगर घोषणा गरेका हुन् ।
नेपाल सरकारबाट नि:शुल्क प्राप्त गरिने सबै प्रकारका खोप नगरपालिकाका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि जिल्ला खोप समन्वय समितिले नगरपालिकालाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्रसमेत दिएको छ । पूर्णखोप सुनिश्चितता नगर घोषणा कार्यक्रममा नगर स्वास्थ्य शाखाले वडा स्वास्थ्य शाखाहरूलाई समेत पूर्ण खोप सुनिश्चितता वडाको प्रमाणपत्र उपलब्ध गराएको छ ।
कार्यक्रममा सहभागीले पूर्ण खोप सुनिश्चित नगर घोषणा तथा दिगोपना कायम गर्नका लागि सामूहिक प्रतिबद्धतापत्र हस्ताक्षरसमेत गरेका छन् । नेपाल सरकारले लागू गरेको राष्ट्रिय कार्यक्रमलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धतासहित जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, नागरिक समाज, पत्रकारलगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
१५ वडा रहेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई ०७४ जेठ १४ गते पूर्णखोप सुनिश्चितता नगर घोषणा गरिएको थियो । नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगर घोषणा गरेपछि हरेक वर्ष पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्ने गरी ४५ वटा खोप केन्द्रमार्फत बालबालिकालाई नियमित खोप उपलब्ध गराउने गरिएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले जानकारी दिएका छन् ।
यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिसकिएको छ । १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले समेत आ–आफ्नो पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गर्ने तयारी गरेको जिल्ला खोप समन्वय समिति खोटाङले जनाएको छ ।
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत खोटाङ जिल्लालाई आगामी असार १० गतेभित्र पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईंले जानकारी दिएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
०७४ पुस १४ गते खोटाङलाई ३१औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष खोटाङमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नेपाल सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफ्लाइटिसलगायतका १३ रोगविरुद्धको खोप नि:शुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिकाले सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्णखोप सुनिश्चितता भएको घोषणा गर्ने गरेको छ ।