त्रिभुवन आर्मी, नेपाल पुलिस, हेल्प नेपाल र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा तेस्रो खेलसम्म अपराजित यात्रा यथावत् राखेका छन् । पुरुषतर्फ लगातार तीन खेलमा जित निकाल्दै चार क्लबले समान ९ अंक जोडेका छन् । एपिएफको एक अंक छ । सुदूरपश्चिम, कोशी र बुढानीलकण्ठ स्पोर्टस् क्लबले अंक बटुलेका छैनन् ।
राखेपको कभर्ड हलमा सोमबार पुलिस, हेल्प नेपाल, आर्मी र गण्डकीले सोझो सेटमा जित निकालेका छन् । पुलिसले बुढानिलकण्ठलाई २५–२०, २५–१९ र २५–१८ ले हरायो । हेल्प नेपालले सुदूरपश्चिमलाई पाखा लगायो ।
गण्डकीले कोशीमाथि जित हात पार्यो । विभागीय डर्बीमा आर्मीले एपिएफलाई २५–२२, २५–२० र २५–२३ ले निराश पारेको छ । आर्मीको जितमा लिबेरो ईश्वर थापाले उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ दी म्याच भए । उनीसँगै धनबहादुर भट्ट क्षेत्री, मानबहादुर श्रेष्ठ, दिलबहादुर सुनार, राजेन्द्र विष्टले सानदार प्रदर्शन गरेका थिए ।
एभरेस्टको लगातार दोस्रो जित
च्याम्पियनसिपको विजेता एभरेस्ट भलिबल क्लबले लिगमा पनि उत्कृष्ट प्रदर्शन जारी राखेको छ । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित तीन भारतीय खेलाडीको साथ पाएको एभरेस्टले लगातार दोस्रो जित निकालेको हो । यस टोलीले बलियो आर्मीलाई सोझो सेटमा पराजित गर्दै दुई खेलबाट ६ अंक जोडेको हो । उत्कृष्ट प्रदर्शन गरेकी भारतीय राष्ट्रिय टोलीकी केपी अनुश्री प्लेयर अफ दी म्याच घोषित भइन् ।
पुलिस र एपिएफको सामान ५ अंक रह्यो । न्यु डायमन्ड र आर्मीले सामान १ अंक बटुलेका छन् । कर्णाली अंकविहीन छ । एभरेस्टले आर्मीमाथि २५–१५, २५–१९ र २५–१९ ले जित निकालेको हो । पहिलो खेलमा एभरेस्टले कर्णालीमाथि ३–० को सोझो सेटमा जित निकालेको थियो । अर्काे खेलमा एपिएफले कर्णालीमाथि ३–१ को जित हात पा¥यो ।