चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन्। प्रहरीले उनलाई ठगी तथा विश्वासघातसम्बन्धी मुद्दामा पक्राउ गरेको हो।
निर्देशक थापालाई महानगरीय प्रहरी वृत्त बौद्धमा पठाइएको मालिगाउँ प्रहरीले जनाएको छ। चलचित्र ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरी वृत्त बौद्धमा विश्वासघातसम्बन्धी कसुरको उजुरी दिएका थिए।
आफ्नो अनुमतिविना निर्देशक थापाले विभिन्न देशमा प्रसाद २ लाई बेचेकाले कानुनी उपचार खोजेको बस्नेतले बताए।
‘फिल्म मेरो कम्पनीमा पनि छ । फिल्मको निर्माता म हुँ । मेरो मन्जुरीविना, फिल्म अस्ट्रेलिया, अमेरिकालगायत देशमा बिक्री भइसकेछ। मलाई नसोधी फिल्म बिक्री गरेको हुनाले मैले कानुनी उपचार खोजेको हुँ,’ उनले भने।
थापाको निर्माणाधीन चलचित्र ‘रावायण’को छायांकन चलिरहेको छ। उनलाई प्रहरीले छायांकन स्थालबाटै प्रक्राउ गरेको हो।