पुराना भ्रष्टाचार मुद्दा फर्स्यौटमा सर्वोच्चको सक्रियता

पूर्वसहसचिव सावित्री राजभण्डारी भ्रष्टाचार मुद्दामा दोषी ठहर, पूर्वमन्त्री गोविन्दराज जोशीको गैरकानुनी सम्पत्ति आर्जन मुद्दाको निर्णय १३ साउनमा सुनाउने तयारी

सोमबार, २१ जेठ, २०८१
डिजिटल संस्करण

सर्वोच्च अदालतले लामो समयदेखि अड्किएका भ्रष्टाचारका ‘हाइप्रोफाइल’ मुद्दा  फर्स्यौटमा सक्रियता बढाएको छ । नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दाको पूर्णपाठ आएपछि अन्य मुद्दा सुनुवाइको पनि बाटो खुलेको हो । 

विशेष अदालतकै फैसला सदर गर्दै सर्वोच्चले आइतबार भ्रष्टाचार मुद्दामा पूर्वसहसचिव सावित्री राजभण्डारीलाई दोषी ठहर गरेको छ । पूर्वमन्त्री गोविन्दराज जोशीको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पनि १३ साउनमा निर्णय सुनाउने सर्वोच्चको तयारी छ ।

पूर्वसहसचिव राजभण्डारीको ११ वर्ष पुरानो मुद्दा सर्वोच्चले टुंग्याएको हो । विशेषका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिरमा राजभण्डारीलाई दोषी ठहर गरेकोमा सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले त्यसैलाई सदर गरेको हो । राजभण्डारीले दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको निष्कर्षसहित विशेषले एक वर्ष कैद सजाय तोकेको थियो । उनले उक्त सम्पत्ति गैरकानुनी तवरबाट आर्जन गरेको भन्दै उनलाई यसबाट बढे–बढाएको सम्पत्तिसमेत गरी चार करोड ९२ लाख रुपैयाँ बिगो तथा जरिवाना हुने फैसला गरेको थियो । 

सरकारी सेवामा छँदा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति छोरी मोनिसाका नाममा लुकाएको अभियोग उनीमाथि लगाइएको थियो । उनको हकमा पनि विशेषबाट भएकै फैसला सदर भएको छ । उनको नाममा बैंकमा रहेको रकम जफतको आदेश भएको थियो । राजभण्डारी सार्वजनिक सेवाबाट निवृत्त भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । ०२२ सालदेखि शाखा अधिकृतबाट सार्वजनिक सेवा प्रवेश गरेकी उनले भौतिक योजना तथा निर्माण मन्त्रालयको सहसचिव पदबाट अवकाश पाएकी हुन् । यसरी निजामती सेवामा यतिसम्मको उच्च पदमा पुग्ने उनी पहिलोमध्येकी महिला हुन् । 

विशेष अदालतमा पहिलोपटक १६ भदौ ०६२ मा दर्ता भएको यो मुद्दा सर्वोच्च अदालतमा भने पछिल्लोपटक ०७० को जेठ र मंसिरमा दर्ता भएको अभिलेख छ । विशेषको फैसला बदरको माग गर्दै सावित्री र उनकी छोरी मोनिसाले पुनरावेदन गरेका थिए । 

सावित्रीले सरकारी सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको दाबीसहित मुद्दा दायर गरेकोमा विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी र सदस्यहरू कोमलनाथ शर्मा तथा चोलेन्द्रशमशेर राणाले सफाइ दिएका थिए । राजभण्डारीले सेवाबाट अवकाश पाएको मितिले दुई वर्षभित्र मुद्दा चलाउनुपर्नेमा समय गुजारी मुद्दा चलाएको कारण देखाई विशेषको उक्त इजलासले सफाइ दिएको थियो । विशेषले २३ मंसिर ०६४ मा हदम्यादको कारण देखाई उन्मुक्ति दिएकोमा यो मुद्दामा सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेको थियो । तर, सर्वोच्चले मुद्दाको तथ्यमा प्रवेश गरी किनारा लगाउन आदेश दिएपछि फेरि मुद्दा विशेष नै फर्किएको थियो । 

विशेषबाट फेरि ठहर हुने फैसला भई आएपछि यसविरुद्ध राजभण्डारी सर्वोच्च पुगेकी थिइन् । तर, सर्वोच्चले विशेषकै फैसला सदर गरेको छ । सर्वोच्च प्रशासनले यो मुद्दालाई अभियान फाँटमा राखी सुनुवाइ गर्दै आएको थियो । पछिल्लो समय नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको गैरकानुनी सम्पत्ति आर्जन मुद्दाको पूर्णपाठ आएपछि अन्य मुद्दा सुनुवाइको बाटो खुलेको छ । कृषि आयका साथै आय गणनाका विषयमा सर्वोच्चको संयुक्त इजलासले ०७९ असार अन्तिममा फैसला गरे पनि पूर्णपाठ नआएको कारणले यसै प्रकृतिका अन्य मुद्दाको सुनुवाइ रोकिएको थियो । तर, अब पुराना मुद्दामा धमाधम सुनुवाइ अघि बढेसँगै पाँच वर्ष पुराना मुद्दा न्यून हुने सर्वोच्चको अपेक्षा छ । 

यसै क्रममा पूर्वमन्त्री गोविन्दराज जोशीको गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा पनि फैसला आउने भएको छ । सर्वोच्चले उनको मुद्दामा २१ जेठमा बहस नोट पेस गर्ने आदेश गरेको छ भने १३ साउनमा निर्णय सुनाउने मिति तोकेको छ । न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासबाट यस्तो आदेश भएको हो । पछिल्लो तीन पेसीमा हेर्दाहेर्दैमा रहेका जोशीसमेतका सात मुद्दामा चौथो सुनुवाइपछि निर्णय सुनाउने मिति तोकिएको हो । १, ८, १३ जेठमा सुनुवाइ गरिसकेपछि आइतबार निर्णय सुनाउने मिति तोकिएको हो । 

जोशीसमेत प्रतिवादी रहेका लगाउका यी सातवटै मुद्दा ०६९ फागुनदेखि ०७० साउनसम्म दर्ता भएका हुन् । नेपाल सरकारका तर्फबाट ताराराज पाण्डेविरुद्ध एक र गोविन्दराज जोशीसमेत ६ जनाविरुद्ध गरी दुईवटा मुद्दा दायर भएका छन् । यी दुवै गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेका मुद्दा हुन् । यसैगरी ताराराज पाण्डेकै दुईवटा पुनरावेदन छन् । यी पनि गैरकानुनी सम्पत्तिकै हुन् । 

अन्य तीन भ्रष्टाचारका मुद्दामध्ये एउटा दिनेशराज जोशीको, मुद्दा सकार गरेका वासुदेव पन्त र गोविन्दराज जोशीले पुनरावेदन गरेको एउटा मुद्दा छन् । जोशी प्रतिवादी रहेको यस मुद्दामा विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेले फैसला गरेका थिए । जसमा फैसला गर्दै विशेषले दुई करोड १६ लाख रुपैयाँभन्दा बढीको सम्पत्तिको स्रोत वैध नरहेको ठहर गरेको थियो । जोशीको ०४८ देखि ०५९ सम्मको आय गणना गर्दा विशेष अदालतले उक्त फैसला गरेको थियो । जोशीलाई एक वर्ष ६ महिना कैद गर्न र बिगोबमोजिम जरिवाना तथा उति नै रकमबराबर सम्पत्ति असुलउपर गर्न फैसलामार्फत भनेको थियो । 

यसै मुद्दाका प्रतिवादी वासुदेव पन्त गैरकानुनी आर्जनका मामिलामा सम्पूर्ण बैंकिङ कारोबार हेर्ने, विभिन्न व्यक्तिका नाममा सम्पत्ति राख्ने व्यवस्था मिलाउनेजस्ता कार्यमा संलग्न रहेको पाइएको थियो । उनले आमा नीरकुमारी पन्तका नाममा खाता खोली जोशीको अवैध आर्जन लुकाएको भन्दै उनलाई यस कसुरमा मतियार ठहर गरेको थियो । उनलाई विशेषले प्रतिवादीको अपराधमा प्रत्यक्ष र सक्रिय संलग्नता रहेको ठहर गर्दै ६५ लाख ५६ हजार रुपैयाँ जरिवाना तथा ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । 

ताराराज पाण्डेको नाममा रहेको घरजग्गा भने जोशीको आयबाट खरिद गरिएको देखिएकाले जफतको फैसला विशेषले गरेको थियो । यस मुद्दाका प्रतिवादीहरू नीरकुमारी पन्त र रामकृष्ण तिवारीले भने सफाइ पाएका थिए । यसैगरी दिनेशराज जोशीको नाममा रहेको सम्पत्ति जफत हुने फैसला भएको थियो ।

पूर्वसहसचिव भण्डारीको मुद्दामा ११ वर्षअघिको विशेषकै फैसला सदर
पूर्वसहसचिव सावित्री राजभण्डारीको ११ वर्ष पुरानो मुद्दा सर्वोच्चले टुंग्याएको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले ०६९ मंसिरमा राजभण्डारीलाई दोषी ठहर गरेकोमा आइतबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले त्यसैलाई सदर गरेको हो ।

राजभण्डारीले दुई करोड ४६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको निष्कर्षसहित विशेषले एक वर्ष कैद सजाय तोकेको थियो । उनले उक्त सम्पत्ति गैरकानुनी तवरबाट आर्जन गरेको भन्दै उनलाई यसबाट बढे–बढाएको सम्पत्तिसमेत गरी चार करोड ९२ लाख रुपैयाँ बिगो तथा जरिवाना हुने फैसला गरेको थियो । सरकारी सेवामा छँदा भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति छोरी मोनिसाका नाममा लुकाएको अभियोग उनीमाथि लगाइएको थियो । उनको हकमा पनि विशेषबाट भएकै फैसला सदर भएको छ । उनको नाममा बैंकमा रहेको रकम जफतको आदेश भएको थियो । राजभण्डारी सार्वजनिक सेवाबाट निवृत्त भएपछि उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । 

सुझावित समाचार