दाङमा स्वर्गद्वारी गुठीपीडित किसान पुनः आन्दोलित बनेका छन्। उनीहरूले आइतबार दाङको घोराहीस्थित मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गरेका छन्। सरकारले आफूहरूका पूरा नगरेको भन्दै तालाबन्दीसहित ती दुवै कार्यालय घेराउ गरेका छन्।
संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीका अनुसार त्यो घेरा तोड्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ भने दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ। सोही क्रममा दुईजना पीडित घाइते भएका छन्। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
उनीहरूले विभिन्न माग राख्ने फागुनमा आन्दोलन गरेपछि सरकारसँग सम्झौता पनि भएको थियो। स्वर्गद्वारी गुठीको जग्गालाई लामो समय भोग गर्दै आएको भए पनि सर्वोच्च अदालतको १४ चैत ०६२ को परमादेशले स्वर्गद्वारी गुठी विशेष प्रकृतिको निजी गुठी भएको ठहर गर्दै आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी आश्रमको नाममा दर्ता भएको जग्गा कुनै पनि किसिमले खण्डित र हिनामिना हुन नदिनू भनेपछि आफूहरू जग्गाको अधिकार पाउनबाट वञ्चित रहेको किसानहरूको गुनासो छ।
सोही जग्गा भोगचलन गर्दै आएको यो चार पुस्ता हो। आफ्ना जिजुबाजेको पालादेखि त्यो जग्गा भोग गर्दै आएको पीडित चौधरीले बताए। गुठीका १२ मौजामा किसानले मोही हक दाबी गरेका छन्। स्वर्गद्वारी आश्रमको एक हजार ३४ बिघा १७ कट्ठा ७ धुर जग्गामध्ये सात सय ५३ बिघा जग्गामा मोही कायम छ।
०२१ सालमा आएको भूमि ऐनअनुसार आश्रमको जग्गामा दुई सय ८९ जनाको मोही कायम भएको थियो। सोही जग्गामा घर टुक्रिँदै जाँदा तीन सय पाँचको हाराहारीमा घर रहेको मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।
२९ मंसिर ०२८ सालमा उक्त जग्गा स्वर्गद्वारी आश्रमको नाममा गएको हो । स्वर्गद्वारी आश्रमको नाममा जानुभन्दा पहिले त्यो जग्गा निजी थियो । तर, किसानले त्यसभन्दा पहिले नै मोही हक पाएका थिए । तर, स्वर्गद्वारी गुठीको नाममा गएपछि पटक–पटक दुःख पाउँदै आएको अध्यक्ष चौधरीले गुनासो गरे ।
०३८ सालमा आश्रमले सोही जग्गा खण्डीकृत नगरिदिन हुन भनी सरकारसमक्ष निवेदन पेस गरेको थियो । त्यसपछि सरकारले ०४५ सालमा खण्डीकरण नगर्ने निर्णय गर्यो। त्यही आधारमा ०६२ सालमा न्यायाधीश रामप्रसाद श्रेष्ठ र दामोदरप्रसाद शर्माको इजलासले स्वर्गद्वारी आश्रमका महाप्रभु हंशानन्द गिरीको झोलीको पैसाबाट खरिद गरिएको जग्गामा यज्ञको होमादि कार्य खण्डित हुन नदिन कुनै हस्तक्षेप नगर्नू नगराउनू भन्ने आदेश गरेको थियो । अदालतले पनि सरकारको त्यो निर्णयलाई सदर गरिदिएपछि आफूहरू पीडित बनेको किसानको गुनासो छ।
स्वर्गद्वारी आश्रमको तुलसीपुर– १० पढ्ढा, घोराही– ५ मैनवार, घोराही– १४ झिंगौरा र ढोरेनीमा मोही छन्। त्यस्तै घोराही– २ रामपुरको पलासे, लमही– ३ को बनगाउँ, मजगाउँ, चैलाही तथा लमही– ७ को उचानिम्बुमा मोही हक कायम छ।