काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सडक विभागले बनाएको मापदण्डअनुसार नै फुटपाथ विस्तार गर्न लागेको बताएका छन्। हिजो न्युरोडका सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गर्नेहरू नै आज फुटपाथ विस्तारको विरोधमा उत्रिएका बालेनको दाबी छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्।’
विगतमा पार्किङले ओगटेको ठाउँमा नै फुटपाथ विस्तार गर्न लागेको भन्दै मेयर साहले थप लेखेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने, तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?’
सडक विभागको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा पाँच लाख व्यक्ति हिँड्ने सडकमा फुटपाथको मापदण्ड हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला।’
महानगरलाई विकास गर्ने हो एकजुट हुन आग्रह गर्दै मेयर साहले प्रतिशोध लिनैपरे विकास रोक्ने र कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिन चुनौती दिएका छन्।
‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ । फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिंग र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले लेखेका छन्।