एमाले मकवानपुरको अध्यक्षमा आठ आकांक्षी

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

आगामी नेतृत्व चयनका लागि एमाले मकवानपुरको जिल्ला अधिवेशन यही जेठ १८ र १९ गते हेटौँडामा हुँदै छ। अधिवेशनका लागि एमाले जिल्ला कमिटीले तयारी अन्तिम चरणमा पुर्याउँदै गर्दा अध्यक्षका आकांक्षीहरूको गतिविधि पनि बढेको छ।

पार्टीको जिल्ला नेतृत्व लिन आठजनाले आकांक्षा देखाएका छन्। अध्यक्षमा दाबेदारी प्रस्तुत गर्नेहरूमा एमालेका नेता रघुनाथ खुलाल, श्रीधर पोखरेल, ध्रुवप्रसाद चौलागाईं, देवराज रिमाल, लालबहादुर थापा र इन्द्रमान स्याङ्तानलगायत छन्।

अध्यक्षका आकांक्षीहरूले कुनै पनि अवस्थामा आफूहरू पछि नहट्ने बताउँदै आएका छन्। एमाले मकवानपुरका नेताहरूले भने सकेसम्म सर्वसम्मतिको प्रयास गरिने बताउँदै निर्वाचन नै गराउनु परे पनि कमभन्दा कम उम्मेदवारबीच प्रतिस्पर्धा हुने दाबी गरे।

अध्यक्षको दाबेदार मानिएका रघुनाथ खुलाल १०औँ अधिवेशनमा तत्कालीन एमाले अध्यक्ष मुनु सिग्देलसँग एक मतान्तरले पराजित हुँदा एमालेको नेतृत्व गर्ने अवसरबाट वञ्चित भएका थिए।

यस्तै, अर्का आकांक्षी श्रीधर पोखरेल एमालेमा रहँदा लामो समय सचिव पदमा रहेर काम गरेको अनुभव छ। उनी एमाले विभाजन भएर एकीकृत समाजवादीमा जाँदा मकवानपुरको अध्यक्ष भएका थिए। तर, निर्वाचन ताका उनी पुनः पुरानै पार्टीमा फर्किएका हुन्।

यसैगरी देवराज रिमाल, ध्रुवप्रसाद चौलागाईं, लालबहादुर थापा र इन्द्रमान स्याङ्तानको पनि पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका रहँदै आएको एमालेका एक जिल्ला नेताले बताए। उनीहरूले पनि पार्टीका विभिन्न पदमा रहेर काम गरिसकेकाले नेतृत्वमा उनीहरूको दाबी स्वाभाविक रहेको ती नेताको भनाइ छ।

एमालेको विधानअनुसार कार्यकारी भूमिकामा रहेका जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिहरूले पार्टीको नेतृत्वमा दाबी प्रस्तुत गर्न पाइँदैन। कार्यकारी पदमा नरहेका व्यक्तिहरू नै बढीजसो नेतृत्वका लागी लबिङमा रहेको पनि ती नेताले बताए। उनले १०५ सदस्य जिल्ला कमिटी चयनका लागि एमाले मकवानपुरको अधिवेशनमा कम्तीमा २ वटा प्यानलबीच प्रतिस्पर्धा हुने दाबी गरे।

पार्टीका अग्रज नेतृत्वले जिल्ला नेतृत्व सर्वसम्मत रूपमा चयनको तयारी गरिरहे पनि चुनावी प्रतिस्पर्धा हुने सम्भावना रहेको उनको भनाइ छ।

यसैगरी, उपाध्यक्ष पदका लागि नवीन सिग्देल, हिदम लामा, सुनील मुक्तान, पार्वती रानाको चर्चा छ भने सचिवमा मदनकुमार दाहाल, सुमित्रा काफ्लेलगायतको चर्चा छ। उपसचिव पदमा सीता विष्ट, खेम जर्गामगर, दीपक खड्का, जुना दाहाल, आरती पाठक, रमिला सापकोटा, इन्द्रप्रसाद नेपाल, सन्तोष चौलागाईंलगायतको चर्चा छ।

१८ जेठमा हुने अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। अधिवेशनका लागि जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको संयोजकत्वमा विभिन्न समितिहरूसमेत गठन गरिसकिएको छ।

सुझावित समाचार