विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङ भन्छन्– खनेको भोलिपल्टै काम सकिँदैन, अझ घरघरमा लैजान पनि सडक खन्नुपर्छ
नेपाल विद्युत् प्राधिकरणकाले तार भूमिगत कार्यमा ढिलाइ गर्दा उपत्यकाका मुख्य सडक अस्तव्यस्त बनेका छन् । प्राधिकरणले डेढ वर्षअघिदेखि तार भूमिगत गर्न थाले पनि हालसम्म मुख्य सडकमै काम सकेको छैन । जसका कारण करिडोर र रिङरोड खण्डमा हिँडडुल गर्नसमेत सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।
निर्माण सामग्री सडक र फुटपाथमै भद्रगोल अवस्थामा छाडिएको छ । प्राधिकरणले रिङरोडको गौशाला, तिनकुने, एयरपोर्ट, चाबहिलसँगै अधिकांश मुख्य सडकमा तार भूमिगत गरिरहेको छ । तर, एक ठाउँको काम पूरा नगरी अर्को ठाउँमा हात हाल्दा सबैतिरको सडक अस्तव्यस्त र ट्राफिक जाम हुने गरेको छ । प्राधिकरणले तार भूमिगत गर्न मुख्य सडकको एक लेनबराबर चौडाई खन्ने गरेको छ । काम सुरु गरेर अलपत्र छाड्दा सडक प्रयोगकर्ताले दुःख पाउँदै आएका छन् ।
प्राधिकरणका अनुसार हाल उपत्यकामा तीन प्याकेजमा काम भइरहेको छ । सबैजसो प्याकेजको ६० प्रतिशत काम सकिएको छ । तर, यी सबै प्याकेजको म्याद भने माघमै सकिएको हो । उपत्यकाका मुख्य क्षेत्रमा तार भूमिगत गर्न अझै एक वर्ष लाग्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले जानकारी दिए । उनका अनुसार यो काम झन्झटिलो भएकाले काम सक्न समय लाग्ने देखिन्छ । ‘भत्काउनेबित्तिकै काम सकिँदैन, किन भने त्यहाँ पाइप बिछ्याउनुपर्छ, तार राख्नुपर्छ, ठाउँ–ठाउँमा प्वाइन्ट राख्नुपर्छ,’ उनले भने, ‘खनेको भोलिपल्टै काम सकिँदैन, अझ पछि घर–घरमा लैजान पनि सडक खन्नुपर्छ ।’ उनका अनुसार मुख्य सडक क्षेत्रमा तार भूमिगतका लागि सडक विभागले अनुमति दिएको छैन । तिनकुनेदेखि माइतीघर, जमल, रत्नपार्क, सिंहदबार, पुतलीसडक, बागबजार, कमलादीलगायत क्षेत्रमा खन्न दिएको छैन । सरकारी निकायले नै काम गर्न नदिँदा तार भूमिगतमा समस्या भइरहेको घिसिङको भनाइ छ ।
सडक विभागलाई आरोप लगाइरहँदा प्राधिकरणले भने आफ्नो काम सकेपछि पनि सडक दुरुस्त नबनाउने गरेको छ । सोही कारण विभागले अनुमति दिन आनाकानी गर्दै आइरहेको हो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राधिकरणले भनेबमोजिम काम नगरेका कारण सबैतिरको सडक खन्न नदिएको बताए । उनका अनुसार कतिपय ठाउँमा प्राधिकरणले काम गर्दा लापरबाही गरेको छ भने सडक पनि अस्तव्यस्त पारिदिएको छ । यस्तै, काठमाडौं महानगरपालिकाभित्र पर्ने सडकमा महानगरले पनि कडाइ गरेको छ । सबैतिर खाल्डा खनेर अस्तव्यस्त पारेको, निर्माण सामग्री सडकमा थुपारेकोलगायत लापरबाही गरेको भन्दै ठेकेदार कम्पनीहरूलाई कारबाही पनि गरेको छ । महानगरले तार भूमिगत गर्दा लापरबाही गरेको देखिएपछि चार लाखभन्दा बढी जरिवानासमेत तिराएको छ ।
करिडोरका सडक अस्तव्यस्त
प्राधिकरणले बागमती करिडोर, धोबी खोला करिडोर, अनामनगर क्षेत्र, टेकु–कालीमाटी सडक, महाराजगन्ज–बुढानीलकण्ठ, चाबहिल–महांकाललगायत क्षेत्रका केही स्थानमा तार भूमिगतको काम सकाएको छ । तर, काम सकिएपछि सडकहरू मर्मत गरेर पुरानै स्थितिमा पुर्याएको भने देखिँदैन । सडक विभाग, महानगरपालिका, प्राधिकरणलगायत निकायबीचको सम्झौताअनुसार तार भूमिगत गरिसकेपछि सडकलाई पुरानै अवस्थामा फर्काउने जिम्मा प्राधिकरणकै हो । तर, त्यसो हुन सकेको छैन । जसका कारण सडकमा अवरोध हुने गरेको छ ।
कहाँ–कहाँ छ सडक अस्तव्यस्त ?
विद्युत् प्राधिकरण मात्रै होइन, कतिपय भित्री सडकमा काठमाडौं महानगरपालिकाले टायल बिछ्याउन फुटपाथ खनेर अलपत्र पारेको छ । यस्ता दृश्य मुख्य सहरका फुटपाथमा देख्न सकिन्छ । महानगरले फुटपाथ सुधार गर्ने भन्दै बागबजार, टुँडिखेल क्षेत्र भत्काएको महिनौँ भइसकेको छ । यी क्षेत्रमा ढल व्यवस्थापनका लागि सडक खन्दा ओहोरदोहोरमा सास्ती भइरहेको छ । एक महिनादेखि भत्काएको सडक अझै व्यवस्थित पारिएको छैन ।
मैतीदेवी हुँदै पुतलीसडक निस्कने सडक पनि उस्तै छ । यहाँ विद्युत् प्राधिकरण र महानगरले सँगसँगै काम गरिरहेका छन् । तर, महिनौँदेखि भत्काइएका फुटपाथ र सडक–किनार अझै धरापपूर्ण छन् । पैदल यात्रु र सवारीचालक धुलाम्य र खाल्डाखुल्डी सडकमा ओहोरदोहोर गर्न बाध्य छन् । सिनामंगल हुँदै पुरानो बानेश्वरतर्फ निस्कने सडक मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले खनेर ओहोरदोहोरमै बाधा पुर्याएको छ । यस क्षेत्रमा सडक वारपार गर्न नै कठिन हुने गरेको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले तार भूमिगत गर्दा लापरबाही देखिएकाले ठेकेदारलाई कारबाही गरिएको बताए । उनले महानगरले काम गरिरहेका स्थानमा सकेसम्म सावधानी अपनाएको र छिटो सक्ने गरी काम भइरहेको दाबी पनि गरे ।