न्याम्सबाट टुक्य्राइँदै वीर अस्पताल

स्वास्थ्य मन्त्रालयले नै चलाउने गरी ऐन संशोधनका लागि संसदीय समितिमा पठाइयो प्रस्ताव

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई टुक्र्याउने तयारी गरेको छ । वीर अस्पतालको व्यवस्थापनमा न्याम्सले ठाडो हस्तक्षेप र बाधा पुर्याएको भन्दै मन्त्रालयमातहत हुने गरी वीरलाई अलग्याउने तयारी थालेको हो । 

हाल वीर अस्पताल न्याम्समातहत सञ्चालन भइरहेको छ । अस्पतालले सामान्य मास्कदेखि स्वास्थ्य उपकरणसम्म न्याम्सको अनुमतिमा मात्रै खरिद गर्न पाउँछ । हरेक पाइलामा न्याम्सको हस्तक्षेप र न्याम्सको अनुमति लिनुपर्ने हुँदा वीर अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाहमा समेत समस्या देखिन थालेपछि सरकारले नयाँ अवधारणा अघि सारेको हो । 

वीरको प्रमुखका रूपमा निर्देशक राखिए पनि न्याम्सका उपकुलपतिको हस्तक्षेपका कारण अस्पताल भद्रगोलसमेत हुने गरेको कर्मचारीहरू बताउँछन् । हाल न्याम्सको उपकुलपतिमा डा. भूपेन्द्रकुमार बस्नेत छन् । न्याम्समा राजनीतिक भागबन्डाबाट भिसी, रजिस्ट्रार र रेक्टर नियुक्ति हुने भएकाले त्यसको असर वीर अस्पतालमा देखिएको मन्त्रालयको ठम्याइ छ । न्याम्सले हाल अनावश्यक करारका कर्मचारी राखेर वीरलाई आर्थिक व्ययभार थपिरहेको छ । हालको परिस्थितिमा वीरमा मन्त्रालयले सीधै चिकित्सक पठाउन वा ठाडो निर्देशन दिन पाउँदैन । न्याम्सको माध्यमबाट मात्रै मन्त्रालयले अस्पतालसँग आवश्यक समन्वय गर्ने गरेको छ । तर, यसो हुँदा देशकै जेठो वीर अस्पतालको विकास र सेवा प्रवाहमा समस्या देखिएकाले वीर अस्पताललाई छुट्याउन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । वीर अस्पताललाई आवश्यक पर्ने स्रोत–साधन मन्त्रालयले सीधै पठाउन नपाउने उनको भनाइ छ । यसअघि मन्त्रालयले विशेषज्ञ चिकित्सक पठाउँदा न्याम्सले फिर्तासमेत पठाएको थियो । अस्पतालमा जनशक्ति अभाव भइरहेका वेला मन्त्रालयले सिफारिस गर्दा न्याम्स तगारो बनेका कारण यस प्रकारको अभ्यास परिवर्तन गर्न खोजिएको बुढाथोकीले बताए । 

बुढाथोकीका अनुसार दुई संस्थालाई अलग्याउन यसअघि न्याम्स सञ्चालनका लागि २०६३ सालमा बनको ऐन कानुन संशोधनका लागि प्रस्ताव संसदीय समितिमा पठाइएको छ । संसदीय समितिले पनि संशोधनको प्रस्ताव टुंग्याउन लागेकाले अबको केही महिनामै वीर अस्पताललाई न्याम्सको हस्तक्षेपबाट मुक्त गरिने मन्त्रालयले जनाएको छ । ‘वीर नेपाल सरकारको केन्द्रीय अस्पताल हो, यसलाई अझ ठूलो र सेवा प्रवाह सहज हुने गरी व्यवस्थापन गर्नुछ । जिल्ला र प्रदेश तहका चिकित्सकको प्रमोसन भएर आउने ठाउँ पनि वीर अस्पताल हो, तर अहिले प्रमोसन भएर आउने चिकित्सकलाई न्याम्सले रोक्ने गरेको छ,’ डा. बुढाथोकीले भने, ‘कानुनमा न्याम्समा गतिविधि र क्रियाकलाप धेरै समेटिएको भए पनि न्याम्सले अन्य गतिविधिभन्दा वीर अस्पताललाई अवरोध हुने काम गर्यो ।’ 

न्याम्सको लापरबाहीका कारण वीरमा अत्यावश्यक सामान सकिँदा मन्त्रालयले समेत आलोचना खेप्ने गरेको बुढाथोकीले बताए । यसअघि बिरामीको पुर्जा कागजको खरिदका लागि न्याम्सले चासो नदिँदा ओपिडी नै बन्द हुने अवस्था निम्तिएको थियो । हाल न्याम्सले ल्याबलाई भुक्तानी नगर्दा थाइराइड र भिटाभिन डीको जाँच प्रभावित बनेको छ । बिरामी निजी ल्याब धाउन बाध्य छन् । त्यस्तै, न्याम्सले वीरलाई नचाहिने किसिमका तीन दर्जनभन्दा बढी कर्मचारी पठाएपछि अस्पतालले भार खेप्नुपरेको छ ।

वीर अस्पतालकै निर्देशक न्याम्सको निर्णयप्रति असन्तुष्ट
वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेल अन्य व्यवस्थापनका काममा पनि न्याम्सले आवश्यक सहयोग नगरेको बताउँछन् । ‘न्याम्सले हस्तक्षेप गर्दा वीर अस्पतालको सेवा प्रवाहमा समस्या भइरहेको छ, हामीलाई चाहिएको सामानसमेत न्याम्सले समयमै किन्ने अनुमति दिँदैन,’ उनले भने, ‘त्यसकारण वीर अस्पताललाई न्याम्ससँग छुट्याउन आवश्यक छ ।’ हाल न्याम्सअन्तर्गत टेकु अस्पताल, कान्ति बाल अस्पताल, प्रसूतिगृह, गंगालाल हृदयरोग केन्द्रलगायत छन् । तर, वीरमा जस्तो हस्तक्षेप अन्य अस्पतालमा न्याम्सले गरेको छैन । 

स्वास्थ्य मन्त्रालयले वीरसँग न्याम्सलाई अलग्याएपछि न्याम्सका कर्मचारी न्याम्समै रहने र वीरका कर्मचारी वीरमै रहने गरी कानुनी व्यवस्था गर्न लागेको छ । यसो गर्दा कर्मचारी व्यवस्थापनको विवाद हुनेछैन । तर, वीर अस्पतालमा काम गरिरहेका कतिपय कर्मचारीले आफूहरूलाई अस्पतालबाट न्याम्स पठाइने भएकाले यसको विरोधसमेत गरेका छन् । वीरसँग अलग्गिएपछि न्याम्सले एमबिबिएस पढाउन सुरु गर्ने र यसका लागि आवश्यक सहयोग गर्ने प्रवक्ता बुढाथोकीले बताए । उनले वीर अस्पताल ठूलो अस्पताल भएकाले यसमा टिचिङ–लर्निङ, विदेशमा मेडिकल क्षेत्रमा भइरहेका नयाँ अभ्यास, सबै बेड सञ्चालन र प्रयोग, विशेषज्ञ चिकित्सकहरू परिचालनलगायत गतिविधि गर्न सहज हुने बताए । यद्यपि, न्याम्ससँग अलग्याउँदा वीरमा झन्डै एक हजार जनशक्ति घट्नेछन् । तर, आवश्यक जनशक्ति मन्त्रालयले पठाउने र दरबन्दी पूरा गर्ने मन्त्रालयले जनाएको छ । यसबाहेक कतिपय कर्मचारी वीर आफैँले पनि राख्ने गरी अधिकार प्रदान गरिनेछ । 

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल न्याम्सले आफ्नो मेडिकल कलेज निर्माण गर्ने र अन्य एकेडेमिक काम छाडेर वीर अस्पताललाई अनावश्यक हस्तक्षेप गरेको बताउँछन् । ‘वीर अस्पताललाई न्याम्सले स्वतन्त्रता दिएको छैन, राजनीतिक दलका कार्यकर्ता र आफ्नालाई भर्ती गर्ने थलो बनाइएको छ,’ उनले भने, ‘न्याम्सबाट अलग गरेपछि वीर अस्पताल थप व्यवस्थित बन्न सक्छ, न्याम्सले पनि गर्नुपर्ने काम थुप्रै छन् ।’ उनले न्याम्स खोल्नुको मुख्य कारण सरकारी स्वास्थ्य संस्थालाई चाहिने स्वास्थ्य जनशक्ति सरकारी उत्पादनबाटै राख्ने र ठूला अस्पताललाई एकेडेमिक हब बनाउने रहेको बताए । तर, न्याम्सले आफ्नो जिम्मेवारी भुलेर वीरमा अनावश्यक हस्तक्षेप गरेको उनको आरोप छ । सरकारले न्याम्सलाई मेडिकल कलेज स्थापनाका लागि भक्तपुरको दुवाकोटमा जग्गा उपलब्ध गराए पनि न्याम्सले पूर्वाधार तयार गर्न सकेको छैन ।

न्याम्सका रेक्टर डा.लोचन कार्कीका अनुसार न्याम्स स्थापनाका लागि सुरुमा वीर अस्पताललाई नै न्याम्सको अस्पताल मानिएको थियो । तर न्याम्सले केही वर्षभित्रमा आफ्नै अस्पताल बनाउने अवधारणाअनुरूप न्याम्सको स्थापना गरिएको थियो । ०६३ मा जारी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल ऐन २०६३ ले पनि न्याम्सले आफ्नै अस्पताल बनाउनुपर्ने उल्लेख गरेको छ । तर हालसम्म पनि न्याम्सले वीर अस्पताललाई आफ्नो अस्पतालका रूपमा प्रयोग गर्दै आइरहेको छ भने छुट्टै अस्पताल स्थापना गर्न सकिरहेको छैन । ‘वीरबाट अलग्गिँदा दुवैलाई घाटा हुन्छ, न्याम्समा भइरहेका विद्यार्थी र जनशक्ति पनि सडकमा आउँछन्, न्याम्सले चलाइरहेका नर्सिङ, एमडिएमएस, डिएमलगायत ६८ वटा कार्यक्रम बन्द गर्नुपर्ने हुन्छ,’ कार्कीले भने, ‘वीरलाई तत्काल न्याम्सबाट अलग्याउनु पेचिलो विषय हो, यसो गर्दा न्याम्स त बन्द नै हुने अवस्थामा आउँछ, वीरमा पनि जनशक्तिको खडेरी पर्छ, न्याम्सका चिकित्सकहरूले रातिको बेलामा समेत वीरमा सेवा गरिरहेका छन् ।’ उनका अनुसार न्याम्सबाट वीरमा करिब एक हजार जनशक्तिले काम गरिरहेका छन् । 

न्याम्सका उपकुलपति प्रा.डा. भूपेन्द्र बस्नेतले पनि न्याम्स चलाउन आफ्नै अस्पताल चाहिने भएकाले वीरसँग तत्काल अलग गर्दा न्याम्स बन्द हुने अवस्थामा आउने बताए । ‘न्याम्सको आफ्नै अस्पताल बनेपछि अलग्गिनु राम्रो हो, तर अहिले नै वीरलाई अलग्याउनु भनेको न्यासलाई बन्द गर्नु हो, यहाँ एक हजार विद्यार्थी अध्ययन गरिरहेका छन्, उनीहरूको भविष्य अन्योलमा पार्नु हो ।’ उनले न्याम्स र वीरलाई तत्काल कुनै पनि हालतमा अलग गर्न नहुने बताए । 

सुझावित समाचार