सरकारले हिमाली क्षेत्रमा पनि वायु गुणस्तर मापन केन्द्र स्थापनालाई प्राथमिकता दिएको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिने बताएका हुन्। यसअघि हिमाली क्षेत्रमध्ये रारामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ। तर, डढेलो लागेका वेला राराको हावा पनि खराब स्थितिमा पुग्न थालेको छ।
अर्थमन्त्री पुनले डढेलो नियन्त्रणका लागि उपकरण खरिद, वायु प्रदूषण नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई प्राथमिकता दिइएको जनाए। त्यस्तै, कार्बन व्यापारबाट प्राप्त हुने रकम जलवायु परिवर्तनको जोखिममा रहेका वर्ग लक्षित खर्च गरिने बताए।
सरकारले आगामी आवमा राष्ट्रपति चुरे कार्यक्रमका लागि एक अर्ब पाँच करोड विनियोजन गरेको छ। वन तथा वातावरण मन्त्रालयको बजेट १५ अर्ब १७ करोड पुगेको छ।