प्रतिपक्षमा जुन पार्टी भए पनि सहकारीको मुद्दा यसरी नै उठ्थ्यो : महामन्त्री थापा

आइतबार, १३ जेठ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा जुन पार्टी भए पनि सहकारी ठगीको मुद्दा यसरी नै उठ्ने दाबी गरेका छन्। 

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आयोजित ‘लोकतन्त्रमा सञ्चारमाध्यमको महत्त्व’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका नाममा धेरै नागरिक पीडित बनेकाले तिनलाई न्याय दिन पनि सहकारीको मुद्दालाई टुंगाेमा पुर्याइने प्रतिबद्धता जनाए।

‘यदि अहिले कांग्रेसको ठाउँमा अरू जुनसुकै पार्टी भए पनि यो विषय उठ्थ्यो। त्यसैले सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न कांग्रेसले भनेजस्तै समिति बन्छ, सहकारीबाट पीडित भएकाले न्याय पाउँछन्, सहकारीका नाममा ठगी गर्नेलाई कानुनअनुसार कारबाही हुन्छ, यसका लागि आजदेखि कांग्रेस सडक संघर्षमा उत्रिएको छ,’ उनले भने।
 
प्रजातन्त्रको आवरणमा चरम अनुदारवादी शासन गर्न थालिएकाले सार्वजनिक संस्थाको विश्वासमा ह्रास आएको महामन्त्री थापाको भनाइ छ। सरकारी संस्था र प्रेसजगतप्रतिको विश्वासमा पनि ह्रास आउन थालेकाले यसप्रति सबै सजग हुनुपर्नेमा महामन्त्री थापाले जोड दिए। ‘सार्वजनिक संस्थाप्रतिको विश्वासमा ह्रास आएको छ, प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न खोजिएको छ। यसले राम्रो संकेत गरेको छैन। त्यसैले हामी सबै सचेत बन्नुपर्ने अवस्था छ,’ उनले भने।

सुझावित समाचार