बाजुराबाट रारातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
बिहीबार बाजुराको जनप्रकाश उच्चमाध्यमिक विद्यालय काेल्टीका विद्यार्थीलाई रारा शैक्षिक भ्रमणमा ल्याउँदै गरेको ग.१ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका–२ जाम हिलटप खोलामा दुर्घटना भएको हो।दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन्।
घाइते हुनेहरूमा नौजना विद्यार्थी, दुईजना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
घाइते चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। उनका अनुसार अरू सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट करिब २५ मिटर तल खसेको थियो।