प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा गृहमन्त्री लामिछाने सहभागी

बुधबार, ९ जेठ, २०८१
डिजिटल संस्करण

हेटौँडामा मंगलबारबाट सुरु भएको प्रदेशस्तरीय सुरक्षा समन्वय समिति बैठकमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका छन् । गृहमन्त्री लामिछाने बैठकमा आज सहभागी भएका हुन् । उनी काठमाडौंबाट सिमरा हुँदै हेटौँडा आइपुगेको सुरक्षा निकायले जनाएको छ ।

संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा जारी बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको सभाध्यक्षतामा जारी सुरक्षा समन्वय समिति बैठकमा गृहमन्त्री रवि लामिछानेसहित प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, प्रदेशका प्रमुख सचिव गोविन्दबहादुर कार्की, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका रथी अशोकराज सिग्देल तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीलगायतको आतिथ्य रहेको छ।

बैठकमा प्रदेशको शान्तिसुरक्षा, सेवा प्रवाहको अवस्था, विपत् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । आजको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव  पूर्णबहादुर दर्जी, गृह मन्त्रालयका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रदेशका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ, संघीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई तथा राष्ट्रिय परिचयपत्र विभागका प्रमुख युवराज कटेल, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, गृहमन्त्री रवि लामिछानेलगायतले बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

सुझावित समाचार