मकैखेतीमा रमाउँदै हिरमिनियाका युवा

थोरै जमिनबाट गर्छन् धेरै आम्दानी

मंगलबार, ८ जेठ, २०८१
डिजिटल संस्करण
मकैखेतीमा रमाउँदै हिरमिनियाका युवा

हिरमिनियाका किसानले गरेको वसन्ते मकैखेती ।

डुडुवा गाउँपालिका– ६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन् । वर्षौँदेखि तरकारी खेती गर्दै आएका उनीहरूले पछिल्लो समय बसन्ते मकै खेती गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले हिरमिनियालाई मकै पकेट क्षेत्र बनाएसँगै यहाँका किसानले मकैखेतीमा जोड दिएको डुडुवा गाउँपालिका– ६ भङ्घोटनाका जयपाल मौर्यले बताए ।

उनका अनुसार हिरमिनियामा तीन सय हेक्टर जमिनमा बसन्ते मकैखेती गरिएको छ । ‘तरकारी खेतीभन्दा बसन्ते मकैबाट धेरै फाइदा हुने भएपछि यहाँका अधिकांश किसान यसतर्फ आकर्षित भएका छन्,’ उनले भने । ३० कट्ठा जमिनमा बसन्ते मकै खेती सुरु गरेका उनले अहिले ९० कट्ठामा मकैखेती गरेका छन् । बाँकेको अन्य ठाउँका खेतबारी बाँझो भए पनि हिरमिनियाका अधिकांश खेतबारीमा मकै र तरकारीले हरियो छ । ‘हामी पनि पहिले तरकारी खेती गथ्र्यौँ । मकैबाट फाइदा भएपछि तरकारी खेती छाड्यौँ,’ मौर्यले भने । 

हिरमिनियाका किसानले मकै खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । मकैलाई नगदेबालीका रूपमा लिएका यहाँका किसानले मकैखेती गर्न आधुनिक कृषि प्रविधिको प्रयोगसमेत गर्दै आएका छन् । आधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादनमा वृद्धि भएको छ नै श्रम र लागतमा समेत कमी आएको छ । यहाँका किसानले मकैको बिउ छर्ने, गोडमेल गर्ने, खोसेल्टा नंग्याउने, दाना छोडाउनेलगायत कामका लागि आवश्यक प्रविधि प्रयोग गर्दै आएका छन् । ‘कृषि प्रविधिको प्रयोगले श्रमिक खोज्ने समस्या हटेको छ नै समय र आर्थिक भारसमेत घटेको छ,’ स्थानीय गुरुदिन यादवले भने । 

आफूले एक कट्ठा जमिनमा चार क्विन्टल मकै उत्पादन गरिरहेको उनले बताए । ‘मकै नगदे बाली हो । समयमा बिक्री गर्न नसक्ने हो भने तरकारी कुहिएर खेर जान्छ, तर मकै लामो समय राख्न र मूल्य बढेको वेला बिक्री गर्न सकिन्छ । कुहिने र सड्ने खतरा रहँदैन,’ उनले भने । उनले प्रतिक्विन्टल तीन हजार पाँच सय रुपैयाँमा मकै बिक्री हुने गरेको जानकारी दिए । हिरमिनियाको अधिकांश जमिन कहिल्यै बाँझो रहँदैन । गर्मीयाममा बसन्ते मकैखेती गर्ने किसानले मकै भित्र्याउनेबित्तिकै धानखेती गर्छन् । ‘धान खेतीपछि हिउँदे बाली लगाउँछौँ । हिउँदेबाली भित्र्याउनेबित्तिकै बसन्ते मकै खेती सुरु गर्छौँ,’ उनले भने, वर्षमा तीन बाली लगाउने भएकाले थोरै जमिनबाट धेरै फाइदा लिन सकेका छौँ ।’ यो क्षेत्र आलु पकेट क्षेत्रका रूपमा पनि चिनिन्छ । 

कृषि प्रविधिको प्रयोग गरी आलुखेती गर्ने यहाँका किसानले आलुको बिउसमेत उत्पादन गर्दै आएका छन् । आफूले फलाएको तरकारी नेपालगन्जका तरकारी बजारमा बिक्री गर्छन् । आफ्नो बारीमा तरकारी उत्पादन नभए अरू किसानले उत्पादन गरेको तरकारी खरिद गरी नेपालगन्ज पुर्याउँछन् । 

मकै र तरकारीले हिरमिनियाले आफ्नो परिचय मात्र बनाएको छैन, यहाँका किसानले मनग्गे आम्दानीसमेत गर्दै आएका छन् । थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण हिरमिनियाका किसानलाई खान, लाउन पुगेको छ । ‘थोरै जमिनबाट धेरै आम्दानी गरेकै कारण यहाँका युवा विदेश जाँदैनन् । अधिकांश युवा आफ्नै खेतबारीमा काम गरेर जीविका चलाइरहेको पाइन्छ,’ वडाध्यक्ष मोहनराम मिश्रले भने ।

See More On

सुझावित समाचार