कैलालीमा लागुऔषधसम्बन्धी मुद्दामा करिब चार वर्षको अवधिमा एक हजार तीन सय १८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७७/७८ देखि चालू आवको १० वैशाखसम्म लागुऔषधसम्बन्धी नौ सय १४ वटा मुद्दा अदालतमा दर्ता भएका छन् ।
लागुऔषधका प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने तथा अदालतमा लागुऔषधसम्बन्धी मुद्दा दर्ता हुने संख्या बर्सेनि बढ्दै गएको प्रहरीको तथ्यांकले देखाएको छ । आव ०७७/७८ मा लागुऔषधसम्बन्धी ९१ वटा मुद्दामा ८९ जना पक्राउ परेका थिए । चालू वर्षको वैशाख मसान्तसम्म दुई सय ७५ वटा मुद्दा अदालतमा दर्ता भएका छन् । जसमा २४ महिलासहित तीन सय ९२ जना पक्राउ परेका छन् । आव ०७८/७९ मा तीन सय १५ जना पक्राउ पर्नुका साथै लागुऔषधका मुद्दाको संख्या दुई सय एक पुगेको थियो । आव ०७९/८० मा तीन सय ४७ वटा मुद्दामा पाँच सय २२ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांक छ । पक्राउ पर्नेमा एक सय ३५ जनाभन्दा बढी महिला छन् ।
प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर सक्रियता बढाएपछि पक्राउ पर्नेको संख्या बढ्न थालेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रबहादुर बोहराले लागुऔषधको मुद्दामा पक्राउ पर्नेमध्ये अधिकांश १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहने गरेको बताए । गलत संगत र चेतनाको अभावले लागुऔषधको प्रयोग बढिरहेको उनको भनाइ छ ।
खैरो हेरोइनको कारोबार बढी
प्रहरीका अनुसार सबैभन्दा बढी प्रयोग र कारोबार खैरो हेरोइनको हुने गरेको छ । सीमावर्ती भारतीय क्षेत्रमा सहज उपलब्ध हुने र खुला सिमानाका कारण लुकीछिपी आयात हुने भएकाले खैरो हेरोइन कारोबार बढी हुने प्रहरी नायब उपरीक्षक बोहराले बताए । करिब चार वर्षको अवधिमा प्रहरीले यहाँ करिब एक किलो ८७३ ग्राम खैरो हेरोइन बरामद गरेको छ । त्यस्तै, चरेस, नाइट्राभेट, स्पास्मोलगायत लागुऔषधका रूपमा प्रयोग हुने गरेको प्रहरीले जनाएको छ ।
‘खुला सिमानाका कारण लागुऔषध नियन्त्रण गर्न चुनौती छ,’ बोहराले भने, ‘यसलाई नियन्त्रण गर्न राज्यका अन्य निकाय र समाजको सहयोग आवश्यक छ ।’ चरेसबाहेक सबैजसो लागुऔषध भारतबाट आउने भएकाले नेपाल प्रहरीले भारतीय प्रहरीसँग मिलेर लागुऔषध नियन्त्रणको प्रयास गरिरहेको उनले बताए ।
भारतसँग खुला सिमाना जोडिएकाले लुकीछिपी लागुऔषध ल्याउने गरिएको पाइन्छ । लागुऔषधका कारण आपराधिक घटना पनि बढेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अधिकांश आपराधिक घटनामा लागुऔषध प्रयोगकर्ताको संलग्नता पाइने गरेको छ । लागुऔषधका प्रयोगकर्ता बढ्दै गएपछि प्रहरीले सुदूरपश्चिमभरि नै लागुऔषधविरुद्धको अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत कारोबारीलाई पक्राउ गरेर आपूर्तिको जालो भत्काउने, विद्यालय तथा क्याम्पसमा युवायुवतीलाई लागुऔषधबारे सचेत गर्नेलगायत कार्य प्रहरीले गरिरहेको छ । सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा तुलनात्मक रूपमा लागुऔषधको कारोबार बढी हुने गरेको छ ।