काठमाडौंमा न्यायिक संवाद सुरु

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकामा शनिबारदेखि न्यायिक संवाद सुरु भएको छ । पहिलो कार्यक्रमस्वरूप वडा नम्बर १५ को महिला सञ्जालले मंका खल भवनमा आयोजना गरेको छ । कार्यक्रममा करिब चार सय महिला सहभागी थिए ।

सो अवसरमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनीता डंगोलले विवाद सिर्जना हुनबाट बचाउन सचेतना कार्यक्रम, सिर्जना भएका विवादलाई परिवार र टोलमै मिलाउन प्रोत्साहन, यहाँबाट मिल्न नसकेका विवाद वडाका महिला सञ्जालमै मिल्न सकून्, यसबाट दुवै पक्षले लाभ पाउन सकून् भन्ने अभिलाषा राखेर काम गरिरहेको उल्लेख गरिन् । 

‘विवाद हुनु कसैका लागि पनि ठीक होइन । कुनै कारणले विवाद भयो वा कोही पीडामा परेको छ भने यस्ता व्यक्तिहरूलाई कानुनी उपचारका लागि गर्ने कि नगर्ने भनेर सोच्नुनपरोस् । सजिलै आउन र खुलेर कुरा गर्न सकून् ।’ उनले यही लक्ष्य प्राप्त गर्न महिला सञ्जाल गठन गरिएको बताइन् । यस्तै वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले कानुनका बारेमा सचेतना गराउनु सञ्जालको पहिलो काम भएको बताए । डंगोलले भने, ‘यसपछि सशक्तीकरणका काम गर्छौँ । यसरी प्रदान गरिएको सशक्तीकरणलाई आत्मनिर्भरतामा रूपान्तरण गर्ने योजनामा छौँ ।’ उनले आउँदो वर्ष यसप्रकारका कार्यक्रमको संख्या बढाउने योजना रहेको बताए । 

महिला सञ्जालले लिखित र मौखिक दुवै प्रकारका विवाद ग्रहण गर्ने गरेको छ । सञ्जालकी संयोजक मैयाँलक्ष्मी महर्जनले भनिन्, ‘प्रकृतिका आधारमा मेलमिलाप गराउने वा नगराउने निर्णय गर्छौँ ।’ उनका अनुसार वडामा आउने विवादहरूमा जग्गा मिचेको, कोठा खाली गराउनुपर्ने, अदालत वा महानगरपालिकाले गरेको फैसला कार्यान्वयन गराइपाउने, लेनदेन व्यवहार, पारिश्रमिक दिलाइपाउने, व्यावसायिक क्रियाकलापले बस्तीमा असर गरेको, सम्बन्धविच्छेदजस्ता विवादहरू आउने गरेका छन् । कार्यक्रममा महानगरपालिकाको कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले, महिलासँग सम्बन्धित महानगरपालिकाले जारी गरेका कानुन र त्यसमा भएका व्यवस्थाबारे प्रस्तुतीकरण गरे ।

सुझावित समाचार