पोखरा–मुग्लिन सडकखण्ड स्तरोन्नति : पूर्वी खण्डतर्फको सम्झौता अवधि १५५ दिन थपियो

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डको पूर्वी खण्डतर्फको निर्माण अवधि एक सय ५५ दिन थप भएको छ । आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरेर पूर्वी (आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर) र पश्चिमी खण्ड (जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर) स्तरोन्नतिको काम भइरहेको छ ।

पूर्वी खण्डको निर्माणको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार ४७७ रुपैयाँ ४३ पैसामा १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार २ वैशाख ०८१ सम्म स्तरोन्नति भइसक्नुपर्ने थियो । 

तोकिएको समयमा काम सम्पन्न नभएपछि यसअघि निर्माण कम्पनीले परामर्शदाता (स्विट्जरल्यान्डको रेनारडेट कम्पनी)सँग चार सय ५६ दिन थप समय माग गरेको थियो । आयोजनाको कार्यालयलाई परामर्शदाताले गरेको सिफारिसअनुसार हाललाई ३ वैशाखदेखि लागू हुने गरी एक सय ५५ दिन म्याद थप भएको आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए । कम्पनीले म्याद थप गर्न अनुरोध गर्दै कोभिडको दोस्रो लहर र त्यसपछि विद्युत्, खानेपानी, टेलीफोनलगायतको लाइन सार्ने काममा भएको ढिलाइले काममा अवरोध भएकाले सम्झौता अवधिमा काम पूरा गर्न नसकेको जनाएको थियो । 

पूर्वी खण्डको काम ६० प्रतिशत सम्पन्न भएको पाण्डेले जानकारी दिए । यस क्षेत्रमा पर्ने ४१.४५ किलोमिटरमध्ये १.३४ किलोमिटर ६ लेन र बाँकी सडक चार लेनको बन्नेछ । 

पश्चिमतर्फको २३ प्रतिशत मात्रै निर्माण 
पूर्वी खण्डको दाँजोमा पश्चिम खण्डको काम निकै सुस्त छ । चीनको यनहुई काइयुन हाइवे एन्ड ब्रिजले पश्चिमतर्फको काम १२ भदौ ०८१ सम्म सक्ने गरी ३ जेठ ०७८ मा सम्झौता गरेको थियो । यस खण्डको लागत सात अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँ रहेको छ । 

सम्झौता अवधि सकिन तीन महिना ६ दिन मात्र समय बाँकी रहँदा जम्मा २३ प्रतिशत मात्र सम्पन्न भएको आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर नारायण पौडेलले जानकारी दिए । कुल ३८.८८ किलोमिटरमध्ये एकतर्फी १३ किलोमिटर मात्र पिच गर्ने काम सकिएको उनले बताए ।

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडकका रूपमा रहेको पृथ्वी राजमार्गको यस खण्डमा दैनिक आठ हजारको हाराहारीमा सवारीसाधन गुड्ने अनुमान छ । सडक निर्माणको काम सुस्त गतिमा अघि बढेको भन्दै पोखराका पर्यटन व्यवसायीले समय–समयमा आयोजना कार्यालय र निर्माण कम्पनीलाई झकझकाउन दबाब दिइरहेका छन् ।

सडकको कामको गति पहिलेभन्दा पछिल्लो समयमा केही बढेको देखिए पनि सन्तोषजनक भने नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । हाल भइरहेको कामको गतिलाई अझ बढाउनुपर्ने उनको भनाइ छ ।

सुझावित समाचार