- संसदमा देखिएको तनाव कम गर्न प्रधानमन्त्रीद्वारा शुक्रबार संसद् भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक र कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरूसँग छलफल
- एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रमुख सचेतक महेश बर्ताैलालगायत सत्तारूढ नेताहरूसँग पनि गतिरोध हटाउनेबारे प्रधानमन्त्रीको परामर्श
- मध्यमार्गी विकल्पमा सहमत गराउने प्रयास, प्रतिनिधिसभा बैठक आइतबार ११ बजे
संसद्मा जारी गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलका नेताहरूसँग संवाद थालेका छन् । बिहीबार प्रतिनिधिसभामा सिर्जित धकेलाधकेलले तिक्ततापूर्ण बनेको राजनीतिक माहोललाई सौहार्दपूर्ण बनाउँदै मध्यमार्गी विकल्पमार्फत सहमतिमा पुर्याउन प्रधानमन्त्री प्रचण्डले सभामुख, सत्तापक्षका नेता र विपक्षी नेताहरूसँग छलफल अगाडि बढाएका हुन् ।
सहकारी अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले फागुन तेस्रो सातादेखि संसदीय छानबिन समिति माग गरिरहेको छ । माग सम्बोधन नहुँदा कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । बिहीबार अवरोधबीच सदनको कारबाही अगाडि बढाउँदा कांग्रेस र एमाले सांसद आमनेसामने भएका थिए ।
तनावपूर्ण अवस्थामा सभामुख देवराज घिमिरेले शुक्रबार ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर, तोकिएको बैठक दलीय असमझदारीका कारण बस्न सकेन । सहमति जुटाउने प्रधानमन्त्रीको प्रयासबीच सभामुखले प्रतिनिधिसभा बैठक आइतबार ११ बजेसम्मका लागि सारेका छन् ।
शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसद् भवनस्थित आफ्नो चेम्बरमा कांग्रेस प्रमुख सचेतक रमेश लेखक, कार्यव्यवस्था परामर्श समिति सदस्य रामहरि खतिवडालगायत नेताहरूसँग छलफल गरेका थिए । छलफलमा सकारात्मक वातावरण बनेको र कांग्रेस नेतृत्वसँग मध्यमार्गी विकल्पमा थप संवाद गर्ने समझदारी बनेको एक सांसदले बताए । थप छलफलका लागि प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई साँझ ६ बजे बोलाएका थिए । ‘प्रधानमन्त्रीजीले कुराकानी गर्न ६ बजे बोलाउनुभएको थियो,’ प्रमुख सचेतक लेखकले भने, ‘तर, उहाँको व्यस्तताले भोलि बिहान बसौँ भन्ने भएको छ ।’
प्रधानमन्त्रीको सचिवालयका अनुसार कांग्रेस नेताहरूलाई शनिबार बिहान साढे ८ बजे बालुवाटार बोलाइएको छ । ‘कांग्रेससँग मध्यमार्गी विकल्पमा पुनः सघन छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्रीज्यूले शनिबार एउटा निष्कर्षमा पुर्याउनुहुन्छ,’ माओवादीका एक सांसदले भने, ‘मध्यमार्गी भनेको समितिको टिओआरमा माननीय रवि लामिछानेको नाम किटेर नराख्ने, बरु उहाँ जोडिएका सहकारीको नाम राख्न सकिने र लामिछानेले सदनमा बोल्ने हो । यो विकल्पले सहमतिमा पुर्याउनेमा प्रधानमन्त्री आशावादी हुनुहुन्छ ।’
कांग्रेस नेताहरू पनि बिहीबारको संसद् स्थगित गरेको भए यो विकल्पमा सहमतिमा पुगेर शुक्रबार समिति गठन भइसक्ने अवस्था पुगिसकिन्थ्यो भनेर सुनाउँछन् । ‘तर, एमाले अध्यक्ष केपी ओलीजीको दबाबमा सभामुख र प्रधानमन्त्री पर्नुभयो । जबर्जस्ती बैठक पेलेर अगाडि बढाउँदा सहमतिको वातावरण बिथोलियो,’ कांग्रेस सहमहामन्त्री जीवन परियारले भने ।
बिहीबार कांग्रेसले रवि लामिछाने र उनी जोडिएका सहकारीको नाम उल्लेख गरेर छानबिन गरी दोषी देखिएमा कारबाहीको सिफारिस गर्ने भन्ने कार्यादेश प्रस्ताव गरेको थियो । रास्वपाले रवि लामिछाने र उनी जोडिएका सहकारीको नाम उल्लेख नगरी समग्रतामा छानबिन गर्नुपर्ने प्रस्ताव गरेको थियो ।
महामन्त्री गगन थापाका अनुसार दुइटा फरक मस्यौदामा एकरूपता कायम गर्न र सहमतिको विन्दु पहिल्याउन कांग्रेसले बिहीबारको बैठक सार्न अनुरोध गरेको थियो । सत्तापक्षले अस्वीकार गरेर बैठक चलाएपछि वातावरण बिथोलिएको सहमहामन्त्री परियार बताउँछन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियार कांग्रेसकै कारण सहमतिको वातावरण भाँडिएको दाबी गर्छन् ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रमुख सचेतक महेश बर्ताैलालगायत सत्तारूढ नेताहरूसँग पनि गतिरोध हटाउनेबारे छलफल गरेका थिए । यद्यपि, बिहान ११ बजे बोलाइएको बैठक चलाउन सभामुख घिमिरेले शुक्रबार बिहानैदेखि प्रयत्न गरेका थिए । सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार साढे १० बजे प्रमुख सचेतकहरू बोलाएर सभामुख घिमिरेले छलफल थालेका थिए । कांग्रेस र राप्रपा सचेतकहरू ढिलो आएका थिए ।
कांग्रेस सचेतक सुशीला थिङले सभापति शेरबहादुर देउवाको चेम्बरमा विपक्षी दलहरूको संयुक्त बैठक बसिरहेको जानकारी गराउँदै निर्णय आउँदासम्म पर्खिदिन सभामुखलाई अनुरोध गरेकी थिइन् । साढे १२ बजे प्रमुख सचेतक लेखक, राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही, लोसपाका शरत्सिंह भण्डारी, जसपा नेपालका राजकिशोर यादव सचेतकहरूको बैठकमा सहभागी भए । उनीहरूले आफूहरूको बटमलाइन छानबिन समिति नै भएको जानकारी गराए ।
कांग्रेस संसदीय दलको ठहर– बिहीबार संसद्मा सभामुखको भूमिका तटस्थ भएन
कांग्रेस संसदीय दलको बैठकले बिहीबार संसद्मा भएको घटनामा सभामुखको भूमिका तटस्थ नभएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले सभामुखले आफू निर्वाचित भएको दलको निर्देशनमा भूमिका खेलेको निष्कर्ष निकालेको हो ।
बैठकले सभामुखलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रहसमेत गरेको छ । ‘संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर विरोध जनाउँदा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल बेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर विरोध जनाउँदासमेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनु पर्दछ,’ प्रमुख सचेतक रमेश लेखकले भने ।
कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्न पुनः मागसमेत गरेको छ । सहकारीका बचतकर्ताले राखेको रकमको सुरक्षाको ग्यारेन्टी र ठगीमा संलग्नमाथि छानबिनको सुनिश्चितता नभएसम्म संसदीय समिति गठनको मागबाट पछि नहट्ने कांग्रेसले स्पष्ट पारेको छ । सरकार यस विषयमा गैरजिम्मेवार बनेको र संलग्नको पक्षमा लागेको ठहर गरेको छ । कांग्रेसले सरकार र सत्तापक्षलाई संवेदनशील बन्न नसकेको भन्दै चेतावनीसमेत दिएको छ ।
‘यो विषय सम्पूर्ण नेपाली जनताको चासो र सरोकारको विषय भई संसद्बाहिर पनि गम्भीर रूपले उठिरहेको छ । संसदीय समिति गठन गर्नुपर्ने तथ्य निर्विवाद रूपले पुष्टि हुँदै आएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक संसदीय छानबिन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ,’ बैठकपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा छ । बैठकलगत्तै कांग्रेसले प्रतिपक्षमा रहेका दलहरूसँग छलफलसमेत गरेको थियो । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा प्रतिपक्षमा रहेका सबै दलहरू समिति गठनको पक्षमा रहेको बताए ।
कांग्रेसले उत्ताउलोपन देखायो : ओली
एमाले अध्यक्ष केपी ओलीले संसद्मा कांग्रेसले उत्ताउलोपन देखाएको बताएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारर्मीसँग कुरा गर्दै ओलीले बिहीबार संसद्मा भिडन्त भएको नभई कांग्रेसले उत्ताउलोपन देखाएको बताए । ‘भिडन्त भएन । कांग्रेसहरूले उत्ताउलोपन देखाए । म बसेको ठाउँमा आए । सत्तापक्षको रोमा आए । अनेक अपशब्द बोल्ने काम गरे । त्यो त सभ्य व्यवहार भएन,’ ओलीले भने । गृहमन्त्री रवि लामिछानेलाई सभामुखले सम्बोधनका लागि समय दिएपछि बिहीबार संसद्मा सत्तापक्ष–प्रतिपक्ष सांसदहरूबीच धकेलाधकेल र घम्साघम्सी भएको थियो । कांग्रेसले सत्ता गुमाउनुपरेको झोक आफूमाथि पोखेको ओलीको भनाइ छ । ‘सरकाबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला,’ उनले भने ।