सत्तारूढ दल एकीकृत समाजवादीले राजनीतिक समीकरण बदलिन सक्ने बताएको छ । अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने गरी तयार पारेको राजनीतिक प्रतिवेदनमा समीकरण वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति मात्रै बनेको दाबी गरेका छन् । तात्कालिक राजनीतिक परिस्थिति बदलिएसँगै राजनीतिक समीकरण पनि बदलिने उनको दाबी छ ।
‘अहिले हामी संसद्भित्र रहेका विभिन्न राजनीतिक दलहरू सम्मिलित समीकरणमा पनि छौँ । यो समीकरण संयुक्त मोर्चा होइन, तात्कालिक राजनीतिक सहकार्य मात्र हो । यो समीकरण वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन, त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने समीकरण वा सहकार्य पनि बदलिन सक्छ,’ प्रतिवेदनमा भनिएको छ । नेपालको राजनीतिक प्रतिवेदन मंगलबार सुरु हुने केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेपछि सुझावका लागि तल्ला कमिटीमा पठाउने एकीकृत समाजवादीले जनाएको छ । तल्ला कमिटीबाट प्राप्त सुझावका आधारमा परिमार्जन गरेर महाधिवेशनमा प्रस्तुत गरिनेछ ।
अध्यक्ष नेपालले एकीकृत समाजवादीसहित माओवादी, जसपा र नेकपा सम्मिलित समाजवादी मोर्चाले भने संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने दाबी गरेका छन् । तत्काल कम्युनिस्ट पार्टीबीच एकता सम्भव नभएकाले समाजवादी मोर्चा बनाइएको उनको दाबी छ । पार्टी एकताका निम्ति पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनुपर्ने उनले औँल्याएका छन् । कार्यगत एकता, मोर्चाबन्दी र सहकार्य तात्कालिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दामा दृष्टिकोण मिल्नेहरूबीच गर्न सकिने उनले बताएका छन् । समाजवादी कार्यदिशा अँगालेका वामपन्थी पार्टीहरूको मोर्चा बनाएर सहकार्य गर्नु उपयुक्त हुने निष्कर्षका साथ समाजवादी मोर्चा बनाइएको उनको जिकिर छ ।
‘अहिले बनाइएको समाजवादी मोर्चा समाजवादी कार्यदिशा अँगालेका वामपन्थी पार्टीहरूबीचको राजनीतिक संयुक्त मोर्चा हो । यस मोर्चाको मुख्य लक्ष्य र उद्देश्य संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्ने र समाजको अग्रगामी रूपान्तरणको कार्य अगाडि बढाउने हो । यस उद्देश्यअनुरूप मोर्चालाई राम्रोसँग परिचालन गर्न सकियो भने समाजवादी क्रान्तिलाई अगाडि बढाउन केही न केही योगदान पुग्नेछ । मोर्चालाई सुदृढ र क्रियाशील बनाई वामपन्थी शक्तिहरूबीच सहकार्यको विकास गर्नु र कम्युनिस्ट आन्दोलनको एकीकरणका आधार निर्माण गर्नु अर्को एक महत्वपूर्ण कार्यभार हो । यो कार्यभार पूरा गर्न हाम्रो पार्टीले पहल गर्नुपर्छ,’ नेपालले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
वर्तमान नेपाली समाजमा आमूल परिवर्तन गरेर समाजवाद निर्माण गर्नका निम्ति बलियो कम्युनिस्ट शक्तिको आवश्यकता नेपालले औँल्याएका छन् । विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध नगरी बलियो कम्युनिस्ट शक्ति निर्माण हुन नसक्ने पनि उनले बताएका छन् । राजनीतिक प्रतिवेदनमा नेपाल एमालेप्रति आक्रामक देखिएका छन् भने मोर्चामा आबद्ध माओवादी, जसपा र नेकपाप्रति नरम देखिएका छन् ।