अत्यधिक तनाव, चिन्ता, डिप्रेसन, अनियमित निद्राको तालिका, असहज वातावरणमा सुत्ने बानी, पुरानो खाले दुखाइ, विभिन्न शारीरिक रोग, न्युरोलोजिकल डिसअर्डरलगायत विभिन्न कारणले अनिद्रा निम्तन सक्छ । मदिराको प्रयोग, हर्मोनल उतार–चढावलगायतले पनि निद्रा अनियमित हुने वा नलाग्ने हुन सक्छ ।
निदाउन कठिनाइ हुने, राति ब्युँझेपछि निद्रामा फर्किन समस्या हुने, बिहान धेरै चाँडो उठ्ने, ब्युँझँदा थकान महसुस हुने, दिउँसै थकान वा निद्रा लाग्ने, चिडचिडापन, एन्जाइटी वा ध्यान केन्द्रित गर्न कठिनाइ हुनेलगायत लक्षण अनिद्राका संकेत हुन सक्छन् ।
यसले मानिसमा आरामको कमी हुने, दैनिक काम बिग्रने, शरीरमा विभिन्न रोगसमेत निम्त्याउन सक्ने जोखिम भएकाले लामो अवधिसम्म निद्रा नलागेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ । चिकित्सकको सल्लाहमा छोटो समयका लागि औषधि सेवन पनि गर्न सकिन्छ । तर, दीर्घकालीन समाधानका लागि जीवनशैलीमा सुधार ल्याउनुको विकल्प छैन ।
केही प्राकृतिक उपाय
- निद्रामा बाधा पुर्याउने दृष्टिकोण र विश्वासलाई परिवर्तन गर्न कग्नेटिभ बिहेभियरल थेरापीले सहयोग गर्छ । दिमाग र शरीरलाई आराम पुग्ने गरी विश्राम लिनुपर्छ ।
- खराब निद्रालाई प्रोत्साहन दिने खालका बानीमा सुधार ल्याउनुपर्छ ।
- निद्रा लागेका वेला मात्र ओछ्यानमा जाने, दिनहुँ एकै समयमा उठ्ने, सुत्न नसकेपछि ओछ्यान छोड्नेलगायत कार्यले पनि अनिद्रा कम गर्न सहयोग गर्छ ।
- अत्यधिक समय मोबाइललगायत इलेक्ट्रोनिक डिभाइसमा झुम्मिनु हुँदैन ।
- क्याफिन, निकोटिनलगायत स्टिमुलेन्टको सेवन कम गर्नुपर्छ । नियमित व्यायाम गर्नुपर्छ ।
- लाइट एक्सपोजर नियन्त्रण गर्ने, छोटो समयको निद्रा (न्याप) सीमित गर्ने ।
- स्वस्थ्यवर्द्धक खानेकुरा लिनुपर्छ । आहारवर्द्धक हर्बल पदार्थ (नोली, बार्ली, ओमेगा, जिन्सिङ, अश्वागन्धालगायत) सेवन गर्न सकिन्छ ।