खुम्रेकिरा नियन्त्रण गर्न खेतबारीमा ‘लाइट ट्रयाप’

आइतबार, ३० बैशाख, २०८१
डिजिटल संस्करण
खुम्रेकिराको माउ खपटे किरालाई विद्युतीय पासो थाप्दै धादिङको गजुरी गाउँपालिका– ३ पुराक्सिङका किसान

सुनसान अन्धकार रात, किरा फट्यांग्राको किरकिर... किरकिर.... गुन्जिरहेको आवाज । दीपावलीमा जस्तै डाँडैभरि झिलीमिली बत्ती । घरघरमा मात्र होइन, बारीका पाटा र कान्लामा समेत बिजुलीबत्तीको झिलीमिली । यो दृश्य हो धादिङको गजुरी गाउँपालिका– ३ पुराक्सिङ । यहाँका किसानले पार्टी, भोजभतेर वा कुनै चाडपर्व मनाउन बारीभरि बत्ती बालेका भने होइन । वर्षैदेखि दुःख दिइरहेको खुम्रेकिरा नियन्त्रण गर्न उनीहरूले बारीमा विद्युतीय पासो (लाइट ट्रयाप प्रविधि) जडान गरेका हुन् । 

‘०८० सालको दसैँमा गाउँमा बत्ती आयो, डबल दसैँ म दंग थिएँ । बारीमा पनि बत्ती जोड्ने भन्नुभयो अचम्म लाग्यो । अन्धकारमा बस्दै आएका हामीलाई बारीमा पनि बत्ती जोड्ने भन्दा पत्यारै लागेन’ स्थानीय किसान कृष्णबहादुर प्रजा भन्छन्, ‘साँच्चै गाउँमा बत्ती आएसँगै फियान नेपालको सहयोगमा बारीमा लाइट ट्रयाप जडान गरिदिएको छ । खुम्रे किराका कारण १५–१६ रोपनी जग्गामा दशनंग्रा खियाउँदा पनि वर्षभरि खान नपुग्दा आजित छौँ । तीन वर्षभित्र खुम्रेकिरानाश हुन्छ भनेको छ, हेरौँ । किरा नाश भए त जीवन नै फेरिन्छ ।’ 

वर्षैदेखि खुम्रे किराको प्रकोपले आजित बनेका पुराक्सिङवासीले गाउँमा बत्ती र खुम्रेकिरा नियन्त्रण गर्न बारीमा विद्युतीय पासो पाएपछि खुसी बनेका छन् । खुम्रेकिरानियन्त्रण गर्ने उपाय लाइट ट्रयाप जडान गरिएसँगै खुम्रेकिरानियन्त्रण हुने पुराक्सिङबासीमा आशा पलाएको हो । 

प्राविधिकको सल्लाह लिएर जानेबुझे र देखेको सबै उपचार पद्धति अपनाउँदा पनि खुम्रेकिरानियन्त्रण गर्न नसकेको बुद्धिमान तामाङ बताउँछन् । ‘खुम्रेकिरानियन्त्रण गर्न धेरै ठाउँ पुग्यौँ । धेरैसँग गुहार माग्यौँ । प्राविधिकहरूको सल्लाह लिएर माटोमै औषधि पनि राख्यौँ । तर, खुम्रे किराले बाली नाश गर्न छाडेन,’ उनले भने, ‘लाइट ट्रयापबाट चाहिँ खुम्रेकिरानाश हुन्छ भनेको छ । खुम्रेकिरानाश भए दुई छाक जोहो गर्न समस्या पर्ने थिएन ।’

पुराकसिङमा चेपाङ र तामाङ गरी ३२ घरपरिवारको बसोवास रहेको छ । मलको भकारो, बारी लगायत यत्रतत्र सबै ठाउँमा खुम्रेकिरा र खुम्रेकिराको माउ खपटे किरा भेटिन्छन् । भकारोदेखि बारीसम्म जहाँपनि खुम्रे किराले सताएको छ । ३–४ वर्षदेखि त झनै बाली सखाप पार्दै आएको खुम्रे किरालाई विद्युतिय पासोबाट नाश गर्ने पर्खाइमा रहेको जीरमायाँ तामाङ बताउँछिन् । 

बारीभरि बिजुली बत्तीको बल्ब टाँगिएका पोल छन् । बत्तीमुनि नै बाटामा पानी राखिएको छ । रातको समयमा बत्तीमा किरा आकर्षित हुन्छन् र बत्तीमा आउँदा झरेर पानी भएको बाटामा खुम्रे किराको माउ खपटे किरा परेर मर्छन् । यसरी मरेको खपटे किरालाई गाड्नुपर्ने फियान नेपालका प्रदेश संयोजक राजेन्द्र बस्नेत बताउँछन् । 
गजुरी गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खुम्रेकिराप्रकोप नियन्त्रण गर्न बजेट विनियोजन गरी आवश्यक सहयोग गर्ने बताएका छन् ।

‘पुराक्सिङवासी खाद्य संकटमा रहेको कारण समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर चासो दिएर पालिका लागि रहेको छ । फियान नेपालसँग समन्वय गरेर अहिले यो विद्युतीय पासो जडान भयो,’ उनले भने– ‘बत्तीको बिल र लाइट ट्रयापको निरन्तरताको चिन्ता नगर्नुस् । यसको निरन्तरताका लागि आगामी वर्ष पनि बजेट व्यवस्था गरी पुराक्सिङमा खुम्रे किराको नाश गर्न पालिकाले सहयोग गर्नेछ ।’ ३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रेकिरानियन्त्रण गर्न १६० वटा विद्युतीय पासो जडान गरिएको बारीका पाटामा बत्ती बालिएको छ । 

सुझावित समाचार