एकीकृत समाजवादीमा गहन छलफलको माग उठेपछि स्थायी कमिटी बैठक लम्बिएको छ । स्थायी कमिटीमा अनुमोदनका लागि मात्र विभिन्न दस्तावेजका मस्यौदा प्रस्तुत गर्न खोजिएपछि सदस्यहरूले प्रश्न उठाएका थिए ।
‘दस्तावेजहरूमाथि गहन छलफल हुनुपर्छ । हतार नगरौँ । समय पुग्दैन भने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारौँ,’ स्थायी समिति सदस्य साध्यबहादुर भण्डारीले भने । उनले राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित वामपन्थी एकता र उदार खालका प्रजातन्त्रवादी, देशभक्त, राष्ट्रवादी शक्तिको साझा मोर्चा बनाएर जानुपर्नेमा जोड दिए । माले, नेपकिपा, नेकपा, क्रान्तिकारी माओवादीलगायतका दलहरूसँग संवाद गरेर जानुपर्नेमा उनले जोड दिए ।
स्थायी समिति सदस्य बलराम बाँस्कोटाले पनि गहन छलफलपछि मात्रै दस्तावेज मस्यौदा पारित गरेर जानुपर्नेमा जोड दिएका थिए । ‘समय पुग्दैन भने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक सारेर भए पनि छलफल गरौँ । नीति निर्माण र निर्णय गर्ने महत्वपूर्ण स्थान स्थायी समिति भएकाले गहन छलफल गरौँ,’ बाँस्कोटाले भने ।
अर्का स्थायी समिति सदस्य श्रीप्रसाद साहले सबै सदस्यको विचार सुनेर मात्रै अगाडि बढ्नुपर्ने बताए । ‘स्थायी कमिटी भनेको निर्णय गर्ने महत्वपूर्ण निकाय हो । स्थायी समितिका हामीले हतार गर्नुहुँदैन । व्यापक छलफल गरेर अगाडि जानुपर्छ,’ उनले भने । स्थायी समिति सदस्यहरू राजेन्द्र राई र माधव पौडेलले पनि गहन छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने बताएका थिए ।
सदस्यहरूले गहन छलफलको माग गरेपछि शनिबार एक दिनका लागि बोलाइएको स्थायी कमिटी बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ । आइतबारका लागि बोलाइएको पोलिटब्युरो बैठक भने सोमबारका लागि सारिएको छ । सोमबार सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक मंगलबारका लागि सारिएको छ । मंगलबार र बुधबार केन्द्रीय कमिटी बैठक बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
अपमानित भएर गठबन्धनमा रहिरहनुपर्छ भन्ने छैन : नेपाल
पार्टी अध्यक्ष माधवकुमार नेपालले विकसित राजनीतिक घटनाक्रमबारे संक्षिप्त सम्बोधन गरेका थिए । उनले अपमानित भएर गठबन्धनमा रहिरहनुपर्छ भन्ने नभएको विचार राखेका थिए । सहमति गर्ने र कार्यान्वयन नगर्ने समस्या गठबन्धनका दलहरूमा रहेको उनको भनाइ थियो । ‘अपमानित भएर गठबन्धनमा रहिरहनुपर्छ भन्ने होइन । हाम्रो आवश्यक छ भने ससम्मान व्यवहार हुनुपर्छ । तर, गठबन्धन दलहरूमा सहमति गर्ने, तर कार्यान्वयन नगर्ने समस्या देखिएको छ ।