सवारीसाधनमा प्रेसर हर्न र झिलिमिली बत्ती राख्न नपाइने

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

सवारीसाधनमा प्रेसर हर्न, झिलिमिली/ झल्लर बत्ती तथा ‘फग्स लाइट’ राख्नेलाई प्रहरीले कारबाही थालेको छ। यसले ध्वनी प्रदूषण तथा दुर्घटनाको जोखिम बढाएको भन्दै काभ्रे प्रहरीले कारबाही अभियान चलाएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले जिल्लाका विभिन्न १० स्थानमा चेकजाँच गरी दुई सय ३० वटा मालबाहक तथा यात्रुबाहक  सवारीसाधनबाट प्रेसर हर्न निकालेको छ। साथै, ५५ वटा सवारीसाधनबाट अनावश्यक लाइट तथा झल्लर निकालिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले बताए।

पुनः जडान गरेमा यस्ता सवारीसाधनको लगत कारबाही गरिने प्रहरीले जनाएको छ। सडक अनुशासन कायम गरी सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लामा अभियानकै रूपमा यस्तो कारबाही अघि बढाएको छ। 

ग्रामीण सडकमा चेकजाँच बढाउँदै प्रहरी 

काभ्रेपलाञ्चोकका ग्रामीण सडकहरूमा प्रहरीले चेकजाँच बढाएको छ। सडक सुरक्षाको बारेमा  सचेतना अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरणका लागि ग्रामीण क्षेत्रका सडकमा आकस्मिक चेकजाँच थालिएको प्रहरीले जनाएको छ।

जसअन्तर्गत शुक्रबार पनौती नगरपालिकाका ग्रामीण सडकमा चेकिङ भएको छ। हेलमेट प्रयोग नगरी सवारी चलाउने ,कागजात साथमा नराख्ने, सिट क्षमताभन्दा बढी बालबालिका राख्ने स्कुल बस तथा यात्रुबाहक सवारी गरी २३ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

कागजपत्र नभएको एक मोटरसाइकल होल्ड गरिएको र तीन सय यात्रुलाई सम्झाइबुझाई गरिएको प्रहरीले जनाएको छ। कारबाहीका साथै यस्तो चेकजाँचमा सचेतनामूलक पम्प्लेटसमेत वितरण गरिएको जिप्रका, काभ्रेपलाञ्चोकले जनाएको छ। 

केही दिनअघि पाँचखाल र मण्डनदेउपुर नगरपालिकाको ग्रामीण सडकमा प्रहरीले आकस्मिक चेकजाँच गरेको थियो। 

सुझावित समाचार