नीति तथा कार्यक्रमको कार्यसूचीले सरकार दबाबमा

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

संसदीय समिति गठनको माग गर्दै विपक्षीहरूले सदन अवरोध गरे पनि सरकार भने चलाउनैपर्ने दबाबमा छ । सदन नचल्दा तय भइसकेको नीति तथा कार्यक्रम प्रभावित हुन सक्ने भएकाले त्यसअगाडि सहमति जुटाउनुपर्ने दबाबमा सरकार छ ।

मन्त्रिपरिषद्ले १ जेठमा दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ । संविधानको धारा ९५ बमोजिम राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम पढ्नुपर्नेछ । 

संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले माग सम्बोधन नभएसम्म नीति तथा कार्यक्रम र बजेटलगायत कुनै पनि बिजनेस अगाडि बढ्न नदिने स्पष्ट पारेको छ । समिति बनाउन तयार नभएको सरकारले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत गराउने तारतम्य थालेको छ । 

संसद् सचिवालयका पदाधिकारीका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने वातावरण नभए सरकार र प्रतिपक्षी दुवैमाथि प्रश्न उठ्नेछ । यद्यपि, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समय अझै चार दिन भएकाले यसबीचमा सत्ता र प्रतिपक्षी सहमतिमा पुग्ने सम्भावना कायमै छ । 

कांग्रेसले समिति नबनेसम्म कुनै पनि संसदीय गतिविधि हुन नदिने सांसद रामहरि खतिवडा बताउँछन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डे समस्याको समाधानका लागि छलफल गरिने बताउँछन् । ‘नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने हो । १ जेठमा अगाडि बढाउने विषयवस्तु हुन्छ । संविधानले १५ जेठमा बजेट ल्याउने भनेको छ । कांग्रेससँग छलफल हुन्छ,’ उनले भने । 
 

सुझावित समाचार