नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी बर्दियाको अध्यक्षमा शालिकराम अधिकारी निर्वाचित भएका छन् । नेकपा एमाले बर्दियाको १०औँ अधिवेशनले अधिकारीलाई निर्वाचित गरेको हो ।
अधिकारी एक सय ८० मत ल्याएर विजयी भएका हुन् । तीव्र प्रतिस्पर्धा भएको निर्वाचनमा उनका प्रतिद्वन्द्वी लालबहादुर श्रेष्ठले एक सय ७० मत ल्याएका थिए । श्रेष्ठ यसअघि नेकपा एमाले बर्दियाको अध्यक्ष थिए भने अधिकारी उपाध्यक्ष थिए ।त्यसैगरी, उपाध्यक्षमा दुर्गाबहादुर वली एक सय ७९ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी कृष्णप्रसाद गौतमले एक सय ५९ मत ल्याएका छन् । सचिवमा पदम ढकाल विजयी भएका छन् । उनले एक सय ७६ मत ल्याए । उनको प्रतिद्वन्द्वी नैनबहादुर खत्रीले एक सय ६८ मत ल्याएका छन् ।
यता, उपसचिवमा लाहनु थारू एक सय ७८ मत ल्याएर विजयी भएका छन् भने जीवन बहादुर शाही एक सय ५८ मत ल्याएर २० मतले पराजित भए । महिला उपसचिवमा एक सय ८७ मत प्राप्त गरेर संगीता थारू विजयी भएकी छिन् भने मञ्जु शर्मा एक सय ५१ मत ल्याएर ३६ मतले पराजय भएकी छिन् ।
त्यसैगरी, लेखा समितिमा विष्णुप्रसाद भट्टराईको अध्यक्षतामा सात सदस्यीय समिति निर्विरोध गठन भएको छ । बर्दिया जिल्लामा पदाधिकारीसहित एक सय पाँचजनाको जिल्ला कमिटीका लागि निर्वाचन भएको हो । तीन सय ६४ जना प्रतिनिधिमध्ये तीन सय ५९ जनाले मतदानमा भाग लिएका थिए । अधिवेशन गत १८ गतेदेखि सञ्चालन भएको थियो ।