एसिसी प्रिमियर कपमा यस्ता छन् नेपालका प्रतिस्पर्धी

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण
एसिसी प्रिमियर कपमा यस्ता छन् नेपालका प्रतिस्पर्धी

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, गुल्सनकुमार झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, कुशल मल्ल, प्रतिश जिसी, सन्दीप जोरा, अनिलकुमार साह र विवेकुमार यादव टोलीमा रहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कपको उपाधि रक्षा गर्न मंगलबार भारतबाट ओमानतर्फ लागेको छ । नेपालले दोस्रो संस्करणको प्रिमियर कपको तयारीका रूपमा भारतमा रणजी ट्रफी टोली बरोडा र गुजरातसँग प्रतिस्पर्धा गरेको थियो ।

नेपालले उपाधि हात पार्दै प्रिमियर कपको तयारी गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टोली सार्वजनिक गरेको छ ।

यसै टोलीले प्रिमियर कपमा प्रतिस्पर्धा गर्नेछ । नेपालले समूह ‘ए’मा हङकङ, साउदी अरेबिया, कतार र मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । एसियन क्रिकेट काउन्सिल (एसिसी)ले आयोजना गर्ने प्रतियोगितामा हङकङ र मलेसिया नेपालका चिरपरिचित प्रतिद्वन्द्वीका रूपमा रहेका छन् । 

यस समूहमा हङकङ र कतारले नेपाललाई चुनौती दिन सक्छ । गत वर्ष कतारले नेपाललाई पहिलो संस्करणको एसिसी प्रिमियर कपमा नेपाललाई घातक बलिङ गर्दै अलआउट गरेको थियो । तर, ब्याटिङमा चुक्दा नेपालमाथि कतारले जित निकाल्न सकेन ।

यद्यपि, टी–२० खेलमा कतारले नेपाललाई एकपटक स्तब्ध पारेको छ । मलेसियाले टी–२० खेलमा नेपाललाई टक्कर दिए पनि जित निकाल्न सकेको छैन । अहिलेसम्म नेपालले आठै खेलमा नेपालले मलेसियालाई हराएको अवस्था छ । समूह ‘ए’मा नेपालको आइसिसी वरीयतामाथि रहेको छ । पछिल्लो टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । यद्यपि, नेपालले एक स्थान गुमाएको छ । 

हङकङ : आइसिसी वरीयता २१
एसिसीले आयोजना गर्ने प्रतियोगितामा अक्सर नेपाल र हङकङ एकै समूहमा पर्छन् । यसपटक प्रिमियर कपमा नेपालले समूह ‘ए’ हङकङलाई पुनः एकपटक प्रतिद्वन्द्वीका रूपमा पाएको छ । आइसिसी वरीयतामा हङकङ २१औँ वरीयतामा छ । हङकङ र नेपालबीच नौ टी–२० खेल भएका छन् । जसमा दुवै टोलीले समान चार जित निकालेका छन् । एक खेलको नतिजा निस्किएन । नेपालले घरेलु मैदानमा हङकङलाई दुईपटक हराएको छ । हङकङले आफ्नो घरमा नेपाललाई एकचोटि पाखा लगाएको छ । तटस्थ भूमिमा हङकङ तीन र नेपालले दुई खेलमा जित निकालेको छ । पछिल्लोपटक यी दुई टोलीबीच ९ मार्च २०२४ मा प्रतिस्पर्धा भएको थियो । जसमा हङकङ ७३ रनले विजयी भयो । पहिलो ब्याटिङ गरेको हङकङले ६ विकेट गुमाएर दुई सय १२ रन जोड्यो । प्रत्युत्तरमा नेपाल १६.४ ओभरमा एक सय ३९ रनमा समेटियो । हङकङको ब्याटिङमा बाबर ह्यातले ४९ बलमा १३ छक्का र तीन चौकाको सहयोगमा १ सय १० रनको योगदान दिएका थिए । 

मलेसिया : टी–२० वरीयता २७
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र मलेसिया एक–आपसका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपालले एकदिवसीय वरीयता पाउनुअघिसम्म एसोसिएट राष्ट्रमा यी दुईबीच कडा टक्कर हुन्थ्यो । लगातार नेपालले विश्व क्रिकेटमा सफलता चुमिरहँदा मलेसिया पछि परेको छ । तर, एसियनस्तरमा हुने प्रतियोगितामा भने मलेसिया नेपालका लागि राम्रा प्रतिद्वन्द्वीकै रूपमा रहेको छ । ओमानमा १२ अप्रिलबाट हुने प्रिमियर कपमा नेपालले आफ्नो उपाधि रक्षा गर्ने अभियानमा पहिलो खेलमै मलेसियाको सामना गर्दै छ । आइसिसीको टी–२० वरीयतामा नेपालभन्दा मलेसिया आठ स्थानले पछि छ । अन्तर्राष्ट्रिय टी–२० खेलमा नेपाल र मलेसियाबीच आठ खेल भएका छन् । जसमा नेपाल अपराजित रहेको छ । नेपालले मलेसियाविरुद्ध औसत एक सय ७१ रन जोडेको अवस्था छ । ब्याटिङको क्रममा मलेसियाले नेपालविरुद्ध औसत एक सय ५० रन बनाएको छ । 

तथ्यांकअनुसार अहिलेसम्म नेपालले पहिलो ब्याटिङ गर्दै आठवटै खेलमा जित निकालेको छ । नेपालका कुशल मल्लले मलेसियाविरुद्ध समग्रमा १५६ रन बनाएका छन् । मलेसियाका सइद अजिजले अहिलेसम्म नेपालविरुद्ध ९९ रन बटुले । नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले मलेसियाविरुद्ध सर्वाधिक नौ विकेट लिएका छन् । सोमपाल कामीले ६ र अविनाश बोहराले पाँच विकेट मलेसियाविरुद्ध हात पारेका छन् । मलेसियाका मुहमद अमिरले नेपालविरुद्ध समग्रमा तीन विकेट लिएका छन् । 

कतार : आइसिसी वरीयता २८
नेपालले कतारविरुद्ध अन्तर्राष्ट्रिय टी–२० मा त्यति धेरै खेल खेलेको छैन । यी दुई टोलीबीच पछिल्लोपटक एसिसी प्रिमियर कपको पहिलो संस्करणमै भएको थियो । २७ अप्रिल २०२३ मा कतारले त्रिवि क्रिकेट मैदानमा ५० ओभरको फम्र्याटमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपाल कतारविरुद्ध ४०.३ ओभरमा एक सय ५७ रनमा अलआउट भएको थियो । सहज लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा समेटेको थियो । नेपालले कतारमाथि उत्कृष्ट ६८ रनको जित निकाल्यो । सो खेलमा सन्दीप लामिछानेले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा ५८ बलमा ४२ रन र बलिङमा १४ रन खर्चेर पाँच विकेट हात पारे । सन् २०१९ मा नेपाल र कतारबीच टी–२० खेल भएको थियो । कतारले आइसिसी पुरुष टी–२० विश्वकपको एसियन क्षेत्रीय प्रतिस्पर्धामा नेपालमाथि चार विकेटको सनसनी जित निकालेको थियो । नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा सबै विकेट गुमाएर १२२ रन जोडेको थियो । कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर जित निकाल्यो । 

साउदी अरेबिया : आइसिसी वरीयता ३१
नेपालले आइसिसी टी–२० वरीयताको ३१औँ स्थानमा रहेको साउदी अरेबियासँग समूह ‘ए’को अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछ । अहिलेसम्म नेपाल र साउदी अरेबियाबीच अन्तर्राष्ट्रिय टी–२० खेल भएको छैन । यसकारण नेपालको नयाँ प्रतिद्वन्द्वीका रूपमा साउदी अरेबिया रहेको छ । साउदी अरेबियाले पछिल्ला पाँच खेलमा जित निकालेको छ । नेपालले चारमा जित र एकमा हारको सामना गरेको छ । 

सुझावित समाचार