‘कर्णाली राजमार्ग स्तरोन्नति नभए सदनमा आन्दोलन गर्छौँ’

‘कर्णालीबासीले अधिकार मागेको हो, नदिए खोस्छौँ’

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले कर्णाली राजमार्ग स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा उनले आवश्यक बजेट नछुट्याए सदन र सडक दुवैतिर आन्दोलन गर्ने चेतावनी दिए।

अनावश्यक प्रोजेक्ट बनाउन पछि नहट्ने सरकारले कर्णालीलाई बजेट दिन हिचकिचाएको भन्दै सांसद शाहीले अन्यथा कर्णाली नेपालमा पर्दैन भन्ने हिम्मत गर्न चेतावनी दिए।

‘कि त भन्न सक्नुपर्छ– कर्णाली नेपालभित्र पर्दैन। भन्नुस् दमका साथ, हामी तपाईंभन्दा बढी विकसीत बनाएर देखाउँछौँ। यदि नेपालभित्र पर्छ भने यहाँ अनावश्यक प्रोजेक्टहरू– विमानस्थल बनिरहेका छन् जहाँ प्लेन उड्दैन। फास्ट ट्रयाक बनिरहेका छन्। अनि कर्णालीलाई दुई अर्ब दिन सरकार किन थुरथुर काँप्छ ?’

कर्णालीवासीले सरकारसँग भिख नमागेको उल्लेख गर्दै सांसद शाहीले अधिकारका लागि लड्ने प्रस्ट पारे। ‘कर्णालीवासीले भिख मागेको होइन, अधिकार चाहिएको छ, अधिकार खोस्ने हो। यो वर्षको बजेटभित्र कर्णाली राजमार्ग स्तरोन्नति हुँदैन भने संसदमा पनि आन्दोलन हुन्छ, सडकमा पनि आन्दोलन हुन्छ।’

उक्त सडकखण्डमा हालसम्म चार सय ३२ वटा सवारी दुर्घटनामा दुई सय ८७ जनाको ज्यान गएको उल्लेख गर्दै शाहीले मन्त्री र प्रधानमन्त्रीलाई एकपटक सडकमार्ग हुँदै कर्णाली जान आग्रह गरे।

‘अहिले पनि त्यो बाटोमा हिँड्न सकिँदैन। विश्वास लाग्दैन भने अहिलेका प्रधानमन्त्रीज्यूलाई त्यो बाटोमा एकपटक गुडाउन मन छ। जुम्लामा प्लेनमा जान पर्दैन। रारा प्लेनमा नजानुस्, एकपटक सडकबाट गइदिनुस्,’ उनले भने।

सुझावित समाचार