सुनकाण्डको अनुसन्धानमा ‘बदनियत’ देखिएका सिआइबीका अधिकारीमाथि कारबाही गर्न अर्काे समिति गठन

आइतबार, ११ चैत, २०८०
डिजिटल संस्करण

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले ‘ब्रेक सु’ तथा विद्युतीय चुरोटमा लुकाएको सुन तस्करी अनुसन्धानमा बदनियत गरेको भन्दै एआइजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो

सुन तस्करीको अनुसन्धानमा बद्नियत राखेको आरोपमा कारबाही सिफारिस भएका प्रहरी अधिकारीमाथि थप छानबिन हुने भएको छ । गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा उनीहरूमाथि कारबाहीका लागि समिति गठन गरेको छ । कानुन महाशाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा नयाँ समिति गठन भएको हो । समितिको सदस्यमा नेपाल प्रहरीका डिआइजी भीमप्रसाद ढकाल र गृह मन्त्रालयको प्रहरी प्रशासन शाखाका उपसचिव रामबहादुर शाही छन् । 

सुनको अवैध पैठारीसम्बन्धी जाँचबुझ आयोगले ‘ब्रेक सु’ तथा विद्युतीय चुरोटमा लुकाएको सुन तस्करीको सिआइबीले बद्नियत राखेर अनुसन्धान गरेको भन्दै तत्कालीन प्रमुख एआइजी किरण बज्राचार्यसहित चार प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरेको थियो । उनीहरूमाथि कस्तो कारबाही गर्ने भन्ने अन्योल भएपछि नयाँ समिति गठन गरिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘कारबाही सिफारिस गरिएकोलाई कस्तो कारबाही मात्र होइन, गलत नियत नदेखिएमा पुरस्कारका लागिसमेत सिफारिस गर्न सक्ने अधिकार समितिलाई दिइएको छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने । कसको भूमिका के देखिएको र कस्तो कारबाही गर्ने भनेर आयोगको प्रतिवेदनका आधारमा सो समितिले सिफारिस गर्नेछ । 

आयोगले एआइजी बज्राचार्य, एसपी सञ्जयसिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस भएको थियो । उनीहरूमध्ये एआइजी बज्राचार्य, डिएसपीद्वय दाहाल र कुँवरको प्रस्ट बद्नियत देखिएको र एसपी थापाको हकमा त्यस्तो नदेखिएको विषय उठेपछि पनि नयाँ समिति गठन भएको स्रोत बताउँछ । ‘एसपी थापाले आफूलाई जानकारी नदिई अनुसन्धान मिसिलमा अन्य प्रहरी अधिकारीले बयान कागज राखेको कुरामा पहिले नै असहमति जनाई त्यसलाई हटाउने कामसमेत गरेको देखियो,’ प्रहरी स्रोत भन्छ, ‘उनीमाथि कारबाही अन्याय हुन्छ कि भनेर आवाज उठेको छ, त्यसकारण पनि कारबाहीको विषयमा थप छानबिन हुन लागेको हो ।’ जाँचबुझ आयोगको सिफारिसअनुसार उनलाई नुवाकोटबाट प्रहरी प्रधान कार्यालय तानिएको छ । 

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले गत १ चैतमा प्रतिवेदन बुझाउँदै अनुसन्धानमा केही आरोपीलाई मिलेमतोमा जोगाउन खोजेको भन्दै कारबाही सिफारिस गरेको हो । तस्करी समूहका नाइके दावा छिरिङसँग तस्करीको सुन कारोबारबारे बारम्बार कुरा गरेका जीवन चलाउनेलाई सुरुमा उपस्थित गराएर बयान कागज गराइएको र पछि फरार बनाइएको विषयमा प्रहरीको भूमिकामाथि आयोगले प्रमुख रूपमा प्रश्न उठाएको हो । उनलाई जोगाउने नियत राखेको र पछि माथिल्लो निकायको दबाबमा प्रतिवादी बनाएको भन्ने आयोगको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, सुन तस्करीको पैसा शुद्धीकरण हुने ठमेलको वाल्डो क्यासिनो तथा दावासँग निकट सम्पर्कमा रहेका अन्य केही व्यक्तिमाथि समेत विस्तृत अनुसन्धान नगरेको विषयमा आयोगले प्रश्न उठाएको छ । यही विषयमा प्रहरी अधिकारीमाथि कारबाही हुन लागेको हो । यसमा गृहले केही निजामती कर्मचारीलाई पनि कारबाहीको तयारी गरेको छ । सुन तस्करीका आरोपीहरूसँग सम्पर्कमा देखिएका कर्मचारीहरू झलकराम अधिकारी, अरुण पोखरेल, उमाकान्त अधिकारीलगायत माथि कारबाही हुन लागेको हो । 

आइजिपी वसन्त कुँवरका एक वर्ष : नक्कली शरणार्थीदेखि सुनकाण्डसम्मको अनुसन्धान

गत वर्ष ११ चैतमा वसन्त कुँवरले आइजिपीको दर्ज्यानी चिह्न लगाएको र नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नले हत्कडी लगाएको दिन एउटै परेको थियो । यो संयोग मात्र थिएन, प्रहरीको एउटा रणनीतिक कदमसमेत थियो । विगतमा गृह प्रशासन तथा प्रहरी प्रशासनको दबाबमा रोकिएको भुटानी शरणार्थी ठगी प्रकरण नेतृत्व फेरिएकै दिनबाट अनुसन्धान अघि बढेको थियो । त्यो अनुसन्धानले प्रहरीको साख बढायो, तर प्रहरी नेतृत्वमाथि भने प्रश्न खडा गर्‍यो । 

प्रहरीले इतिहासमै पहिलोपटक पूर्वगृहमन्त्री, सचिवसहितका हाइप्राफोइल व्यक्तिमाथि पक्राउ गरी अनुसन्धान गरेको थियो । तर, आइजिपी कुँवर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहँदा यसका आरोपीहरूलाई सोधपुछमा बोलाएर पनि अनुसन्धानको दायरामा नल्याएको खुलेपछि उनीमाथिसमेत प्रश्न उठेको थियो । यद्यपि, कुँवरले आइजिपी हुँदा उच्चपदस्थसम्मलाई कानुनी दायरामा ल्याउने कामको नेतृत्व गरे । 

कुँवरले प्रहरी नेतृत्व सम्हालेको एक वर्ष पुगेको छ । अहिले अर्काे हाइप्रोफाइल घटनामा महानिरीक्षकले सशक्त भूमिका खेल्न नसकेको भनेर प्रश्न उठिरहेको छ । ब्रेक सु तथा विद्युतीय चुरोटमा लुकाएर भएको सुन तस्करीमा सिआइबीले निष्पक्ष अनुसन्धान गर्न नसकेको भन्दै जाँचबुझ आयोगले यसमा कारबाही सिफारिस गरेको छ । पहिला, अनुसन्धानलाई सही भनेकामा अहिले गलत ठहर गरी त्रुटि औँल्याएपछि यस प्रकरणमा पनि उनको भूमिकामाथि प्रश्न उठेको छ ।  

कुँवरको नेतृत्वमा पछिल्लो एक वर्षमा नेपाल प्रहरीले हाइप्रोफाइल घटनाको अनुसन्धान गरेको छ । त्यसमा कतिपय अवस्था प्रहरीले प्रशंसा कमाएको छ भने कतिपयमा आलोचना । तर, समग्रमा एक वर्षको अवधिमा प्रहरीले पहुँचवाला व्यक्तिलाई कानुनी दायरामा ल्याएर कानुनी शासनको राज दिन प्रहरी सफल भएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् । यद्यपि, अनुसन्धानमा भएका कतिपय त्रुटि र बद्नियतले प्रहरी पनि विवादमा पर्दै आएको छ । कुँवरकै नेतृत्वमा बालुवाटार जग्गा हिनामिना मुद्दा पनि अदालतसम्म पुग्यो । यसमा पनि केही व्यक्तिहरू प्रमाण हुँदाहुँदै पनि मुद्दा नचलाएको भन्दै प्रश्न उठेको थियो । 

डिआइजी भीमप्रसाद ढकाल प्रवक्ता, नेपाल प्रहरी 
यो एक वर्षको अवधिमा अपराध रोकथाम र अनुसन्धानमा महत्वपूर्ण प्रगति भएको छ । संस्थागत सुधारका काम पनि भएका छन्, केही प्रक्रियामै छन् ।

हाई प्रोफाइल घटनालाई अनुसन्धान गर्ने हिम्मत गरेका आइजिपी कुँवरले प्रहरी अधिकारीको मनोबल भने बढाउन सकेका छैनन् । उदारणका लागि प्रहरीमा डिएसपीबाट एसपीमा बढुवा महिनौदेखि अलपत्र छ । आठ पद रिक्त छन्, तर १२ जना प्रतिस्पर्धीको टक्करका कारण यसको असर आकांक्षीलाई त परेको छ नै, तल्लो तहसम्म बढुवा रोकिएको छ । यसमा प्रहरी महानिरीक्षककै भूमिका कमजोर रहेको प्रहरी अधिकारी बताउँछन् । 

सरुवामा पनि नियमित हुन सकेको छैन । एक वर्षमा हुने एसपी र डिएसपीको सरुवा टक्करकै कारण १३ महिनापछि मात्र भयो । ‘क’ श्रेणीका जिल्लामा एसपी पठाउँदा राजनीतिक नेतृत्व नै हाबी भएको स्रोत बताउँछ । यद्यपि, सरुवामा नयाँ मापदण्ड बनाएर ‘क’ वर्गको जिल्लामा बसेकालाई दोस्रोपटक बस्न नपाउने नियम कार्यान्वयनमा ल्याइएको छ । 

कुँवरको नेतृत्वमा केही सुधारका काम पनि भएका छन् । आइजिपीमा नियुक्त भएलगत्तै उनले काजको विकृतिलाई रोक्ने अभियान चलाए । तर, त्यसमा थोरै मात्र सफल भए । तराईका महत्वपूर्ण कार्यालयमा वर्षाैँदेखि कार्यरत घुमुवालाई भने उनलाई हटाएर संगठनमा शुद्धीकरण अभियान चलाउन सफल भए । जसकारण कतिपय प्रहरीले त राजीनामा नै दिएको एक प्रहरी अधिकारीहरू बताउँछन् । संस्थागत सुधारअन्तर्गत प्रहरी कार्यालयमा वर्षौंदेखि बेबारिसे रहेका सवारीसाधन हटाउने प्रक्रिया अघि बढाएका छन् । अपराधीबाट बरामद गरिएको हतियार नष्ट गर्ने काम पनि उनको कार्यकालमा भएको छ । गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाक दिनेदेखि प्रहरी चालचलनलाई थप व्यवस्थितजस्ता सुधारका काम पनि भएका छन् । 

प्रहरी प्रवक्ता डिआइजी भीमप्रसाद ढकाल एक वर्षको अवधिमा प्रहरीमा सुधारका धेरै काम भएको बताउँछन् । ‘यो एक वर्षको अवधिमा अपराध रोकथाम र अनुसन्धानमा महत्वपूर्ण प्रगति भएको छ,’ उनले भने, ‘संस्थागत सुधारका कामहरू पनि भएका छन्, केही प्रक्रियामै छन् ।’ एक उच्च प्रहरी अधिकारी भने समग्रमा कुँवरको नेतृत्वमा संगठनभित्र उत्साह थपिन नसकेको बताउँछन् । ‘व्यक्तिगत रूपमा उहाँ इमान्दार मान्छे हो,’ ती अधिकारी भन्छन्, ‘तर, उनको नेतृत्वमा पनि संगठनमा खराब अधिकृतहरू नै हाबी भएको देखिन्छ, कमान्ड पनि त्यति सशक्त हुन सकेको देखिँदैन ।’ 

सुझावित समाचार