घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्डकप हुने

शुक्रबार, ९ चैत, २०८०
डिजिटल संस्करण

पहिलो पुरस्कार नगद पाँच लाख ५० हजार पाँच सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल तथा दोस्रो पुरस्कार नगद तीन लाख ५० हजार तीन सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल 

लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ वर्षको अवसरमा ‘स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गरिएको छ । वैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको हो ।

आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेँसीसहरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस वर्ष ६ दिनसम्म फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ । 

यस वर्ष कुल १२ टिमको सहभागिता रहने आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए । यस वर्षको पहिलो पुरस्कार नगद पाँच लाख ५० हजार पाँच सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल रहेको छ । 

दोस्रो पुरस्कार नगद तीन लाख ५० हजार तीन सय ५५ रुपैयाँ, कप र मेडल राखिएको छ । यस प्रतियोगिता ग्रामीणस्तरमा खेलाउने लमजुङको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशिको फुटबल प्रतियोगितासमेत रहेको घलेले बताए । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०–१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । यो कार्यक्रम आयोजना गर्न ३१ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको मेला आयोजक समितिका संयोजक गंगाबहादुर घलेले बताए ।

क्वहोलासोथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण पर्यटनको राजधानी घलेगाउँको थप प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको खेलकुद प्रतियोगिताले घलेगाउँलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

यस वर्ष घरेलु चार टिम र जिल्ला बाहिरका आठवटा टिमले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा आमन्त्रण स्वीकार गरेर आउने खेलाडी टिमलाई खाना र वासको व्यवस्थापन आयोजकले गर्ने भएको छ ।

खेलकुदका माध्यमबाट घलेगाउँको पर्यटन प्रवर्द्धनलाई थप उचाइमा पुर्याउन आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गर्ने योजनाअनुरूप गत वर्षदेखि स्मार्ट भिलेज आमन्त्रित गोल्डकपको रूपमा अगाडि बढाइएको आयोजकले जनाएको छ ।

ग्रामीण पर्यटनका माध्ययमबाट पर्यटन प्रवर्द्धन गरी गाउँलेको आर्थिक अवस्था मजबुत बनाउन घलेगाउँवासीले ०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’को आयोजना गरी घरवास (होमस्टे) सुरु गरेका थिए ।
 

सुझावित समाचार