फाइनल जित्न नेपाललाई १७२ रनको लक्ष्य

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

ओपनर टोनी उराको अर्धशतकप्रेरित पपुवा न्युगिनी (पिएनजी)ले  त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनलमा नेपाललाई एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पिएनजीले टस हारेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै पिएनजीले एक सय ७१ रन बनायो । कमजोर सुरुवात गरेको पिएनजीलाई ओपनर उराले प्रतिस्पर्धात्मक लक्ष्यतर्फ पुर्याएका थिए । उराले ३७ बलमा पाँच चौका र चार छक्कासहित ६१ रन बनाए । आलेई नाओले आक्रामक ब्याटिङ गर्दै १० बलमा एक चौका र तीन छक्कासहित ३० रन बनाए । 

नेपालका कुशल भुर्तेल र आकाश चन्दले सर्वाधिक तीन–तीन विकेट लिए । चार ओभर बलिङ गरेका कुशलले ४ ओभरमा २४ रन खर्चिए । युवा बलर आकाश चन्दले चार ओभरमा ४१ रन खर्चिएका हुन् । करण केसी र गुल्सन झाले समान एक विकेट लिए। 

पिएनजीका अर्का ओपनर सेसे बाउलाई करणले आकाश चन्दबाट डक गराएका हुन् । आकाशले विकेटकिपर विनोद भण्डारीबाट कप्तान असाद भालालाई दुई रन बनाउँदा क्याच गराए । आकाशले दोस्रो विकेटको रूपमा करणबाट लेगा सिआकालाई दुई रनमा आउट गराउँदा ३.१ ओभरमा पिएनजी २०–३ को अवस्थामा थियो । गुल्सनले नाै बलमा दुई चौका र एक छक्का हिर्काएका हिरिहिरीलाई लोकेस बमबाट क्याच गराएका हुन् । 

पाँचौँ विकेटका लागि टोनी उरा र चाद सोपरबीच ३९ बलमा सर्वाधिक ४८ रनको साझेदारी भएको थियो । चादले १३, हिला भारेले १८, किप्लिन डोरिगाले १४ रन बनाएका आउट भएका हुन् । 

यसअघि नेपाल दुई खेलबाट तीन अंक र पिएनजी दुई अंकसहित शीर्ष दुईमा रहेर फाइनल खेलेका छन् । दुई खेलमा एक अंक जोडेको हङकङ तेस्रो हुँदा बाहिरियो । नेपालले पहिलो खेलमा हङकङसँग वर्षा हुँदा अंक बाँडेको थियो । दोस्रो खेलमा पिएनजीलाई ८५ रनले हराएको हो ।

सुझावित समाचार