भ्रामक भिडियो फेसबुकमा हाल्ने दुई ताइवानीलाई दुई वर्ष जेल सजाय

शुक्रबार, ४ फागुन, २०८०
डिजिटल संस्करण

कम्बोडियाली समुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुईजनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षागार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो।’

‘दुवैजना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अंग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,’ अदालतले भनेको छ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पुर्याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो। अदालतले उनीहरूलाई जनही दुई वर्षको जेल सजाय सुनाएको छ र झन्डै दुई हजार अमेरिकी डलर जरिवाना तिर्न आदेश दिएको छ।

प्रान्तीय सरकारले ती व्यक्तिले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’सहितको भिडियो बनाएको बताएको छ।

अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत भ्रामक सामग्री सम्प्रेषण गरी मानिसलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेकाे पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ। 

ताइवानको केन्द्रीय समाचार संस्था (सिएनए) का अनुसार तीमध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रसारण गरेका थिए। भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ।

सिएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन्। गत अगस्टमा संयुक्त राष्ट्रसंघले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौँ मानिसलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो।

संयुक्त राष्ट्रसंघले एक रिपोर्टमा भनेको छ, ‘अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लंघनको सामना गर्नुपरेको छ।’ रासस 

सुझावित समाचार