आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट खेलमैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
यससँगै नेपालले अहिले ब्याटिङ गरिरहेको छ। नेपालले नामिबियाविरुद्धको ब्याटिङ इनिङ्सको पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको छ । उनी आउट साइड ऐज लागेर दोस्रो स्लिपमा क्याचआउट भएका हुन् ।
यसैगरी नेपालको दोस्रो विकेट गुमेको छ । अनिलकुमार शाह इनिङ्सको २.१ ओभरमा एलबिडब्लू आउट भएका छन् । नामिबियाका ट्रपलम्यानले उनलाई एलबिडब्लू आउट गरेका हुन् । नेपाल २.१ ओभरमा १२–२ को कमजोर अवस्थामा छ । अनिलले ६ बलमा दुई चौकाको सहयोगमा आठ रन जोडे ।
आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुवात गर्न चाहन्छन् । पछिल्लोपटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको थियो । नेपाल त्यही जितलाई निरन्तरता दिन चाहन्छ । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।
नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिलकुमार शाह, गुल्सन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । त्यस्तै, बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।
त्यस्तै, नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभिन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन सिकोंगो र सन फौसी छन् ।
घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृंखलाअन्तर्गत पहिलो शृंखला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग– २ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।