कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका– ८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारू, जनपक्षीय र साझा नेताका रूपमा परिचित थिए । उनका पत्नी गीता बुढाथोकी, दुई छोरा आनन्द र शिशिर एवं दुई छोरी ममता र कविता बुढाथोकी छन्।
कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंका अनुसार लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गएराति ११ः३० बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।
तत्कालीन पञ्चायतकालमै ०४३ मा जनपक्षीय उम्मेदवार बनेर उनी राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित भएका थिए । यसपछि उनी जलस्रोत राज्यमन्त्री बनेका थिए । उनी ०६४ मा कांग्रेसका तर्फबाट झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । यसैगरी, ०७० मा संविधानसभा सदस्यमा समेत उनी निर्वाचित भएका थिए ।
नेपाली कांग्रेसको सरकार गठन हुँदा उनी सामान्य प्रशासनमन्त्री नियुक्त भएका थिए । जनतामाझ उनी निडर र स्पष्ट वक्ता भनेर चिनिन्थे । विगत दुई सातादेखि उनलाई प्रोस्टेटको समस्या जटिल भएपछि विराटनगरमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको पार्थिव शरीर आज झापा ल्याइने र शवयात्रासहित कन्काई नदीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
समुदायमा कांग्रेस अभियान रोकियो
बुढाथोकीको निधनले समुदायमा कांग्रेस अभियान रोकिएको छ। महामन्त्री गगनकुमार थापाको मेची–काली संवाद यात्रा पनि रोकिएको छ। रोकिएका कार्यक्रम हाल जहाँबाट रोकिएको हो पछि त्यहाँबाट नै सुरु हुने कांग्रेसले जनाएको छ।