बच्चामा आत्मविश्वास बढाउन...

आइतबार, २१ माघ, २०८०
डिजिटल संस्करण

- हरेक अभिभावक आफ्ना बच्चा आत्मविश्वासी भएको हेर्न चाहन्छन् । तर, बच्चालाई आत्मविश्वासी बनाउन सबैभन्दा ठूलो भूमिका अभिभावककै हुन्छ । उनीहरूलाई स्नेह देखाउनुपर्छ । अति निगरानीमा राख्नु हुँदैन । त्यस्तै, उनीहरूका काममा धेरै हस्तक्षेप पनि गर्नु हुँदैन । तर, उनीहरूले के गर्दै छन् भन्नेबारे जानकार भने हुनुपर्छ । 

- सबै जिम्मेवारी आफैँ लिँदा बालबालिका हरेक काममा अरूप्रति निर्भर हुन सक्छन् । त्यसैले उनीहरूलाई आत्मनिर्भर हुन सिकाउनुपर्छ । सानैदेखि ब्रस गर्ने, हात धुनेलगायत काम आफैँ गर्न उत्प्रेरित गर्नुपर्छ । अलि ठूलो भएपछि सपिङमा पनि पठाउन सकिन्छ । कुनै कुरा गर्न नसक्दा वा बिग्रँदा पनि त्यसबाट उनीहरूले केही न केही सिकेका हुन्छन् । 

- बच्चाहरूले सोधेका कुरामा झर्को मान्नु हुँदैन । उनीहरू जिज्ञासु हुन्छन् । कतिपय अवस्थामा अनावश्यक कुरा पनि गर्न सक्छन् । तर, अभिभावकले उनीहरूका हरेक जिज्ञासाको जवाफ दिने कोसिस गर्नुपर्छ । उनीहरूका कुरा नसुन्नु वा आफ्ना कुरा मात्रै सुनाउन खोज्नु राम्रो होइन । 

- बच्चाको समग्र विकासमा इन्टरनेट वा मोबाइलको अत्यधिक प्रयोगले पनि समस्या सिर्जना गरिरहेको हुन सक्छ । अहिलेको जमानामा उनीहरूलाई प्रविधिबाट पूरै टाढा राख्न पनि गाह्रो हुन्छ । तसर्थ, दिनमा थोरै समय मोबाइल चलाउन दिन सकिन्छ । बाँकी समय शारीरिक गतिविधिमा नै संलग्न हुन उत्प्रेरित गर्नुपर्छ । क्रिकेट, फुटबल, मार्सल आर्टस्जस्ता खेल तथा योगलगायत शारीरिक गतिविधिमा संलग्न गराउन सकिन्छ ।

See More On

सुझावित समाचार