गाजामा प्रस्तावित युद्धविरामबारे छलफल गर्न हमास नेता बिहीबार इजिप्टकाे राजधानी कायरो पुगेका छन्।
हमासले इजरायलसँग ६ साता लामाे युद्धविरामको प्रस्तावमाथि समीक्षा गरिरहेको एफपीले जनाएको छ। पेरिसमा मध्यस्थकर्ता भेलापछि विनाशकारी युद्धको गतिमा नयाँ युद्धविरामको अन्तर्राष्ट्रिय प्रयास भइरहेको थियो।
कतार र इजिप्टको नेतृत्वमा मध्यस्थताको प्रयास तीव्र हुँदै गर्दा हमास नेता इस्माइल हानियेह गत साता पेरिसमा पारित एउटा युद्धविराम प्रस्तावमाथि छलफल गर्न बिहीबार सिआइए प्रमुख विलियम बर्न्ससँग कायरो आएकाे बताइएको छ।
तीन चरणको योजना युद्धको सुरुवाती ६ साताको विरामका साथ सुरु हुने र यसबाट गाजापट्टीमा थप सहायता पुर्याइने हमासले जनाएको छ।
वार्ताको संवेदनशीलताका कारण नाम नछाप्न अनुरोध गर्दै स्रोतले इजरायलमा प्यालेस्टिनी बन्दीहरूको बदलामा उक्त चरणमा हमासले नियन्त्रणमा राखेका ‘महिला, बालबालिका र ६० वर्षभन्दा धेरै उमेरका बिरामी पुरुष’लाई मात्र मुक्त गरिने बताएको छ। त्यहाँ इजराइली सेनाको फिर्तीलाई लिएर पनि वार्ता हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।