प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको संघर्षबाट प्राप्त परिवर्तनको रक्षाका निम्ति माओवादी घटकबीचको एकता अपरिहार्य रहेको बताएका छन्।
माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शनिबार सहिद प्रतिष्ठान नेपालको १४औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गरे।
‘देशभरका माओवादी आन्दोलनका सबै कित्ताका सहकर्मीलाई एकताबद्ध हुन र एक ढिक्का भएर काम गर्न अपिल गर्दछु,’ विभाजित भएर लक्ष्यमा पुग्न नसकिनेतर्फ संकेत गर्दै उनले भने। जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले कुनै न कुनै रूपमा सम्बोधन गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जनयुद्धका घाइतेको पुनः वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गरे।
‘कतिपय अझै घाइतेका रूपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरूलाई घाइतेको सूचीमा समावेश गरिन्छ,’ उनले भने, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिंगो पार्टीपंक्तिले आत्मबोध गर्नुपर्छ।’
माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन आग्रह गर्दै दाहालले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको दाबी गरे। शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुंगिने विश्वास व्यक्त गरे।
नेपालको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगतका लागि पनि अनुकरणीय रहेको उनको भनाइ छ।