मैत्री सहकारीको २१ वर्षे छलाङ : १३ हजारको सेयर पुँजीबाट करिब ७६ करोडको काराेबार

शुक्रबार, २७ पुष, २०८०
डिजिटल संस्करण

३३ जना सदस्यबाट  सुरु भएकाे सहकारीमा अहिले करिब १४ हजार सेयर सदस्य

देशभर केही सहकारीका गलत हर्कतहरू बाहिर आइरहेका वेला गुल्मीका केही सहकारी संस्थाहरूले भने आफूलाई अब्बल बनाउँदै लगेका छन् । जिल्लाका अब्बलमध्येको मैत्री बहुउदेश्यीय सहकारी संस्थाले स्थापनाको २१ वर्षमा करिब १४ हजार सेयर सदस्य र १० करोड ३४ लाख ६३ हजार तीन सय सेयर पुँजी निर्माण गरेको छ । कुल ७५ करोड ८९ लाख ४१ हजार आठ सय ७४ रुपैयाँ कुल पुँजी निर्माण गरेको छ । 

‘भनेको मान्ने’ व्यक्तिहरूको सहभागितामा ग्रामीण भेगमा वित्तीय परिपूर्ति र सदस्यको जीवनस्तर उठाउने उद्देश्यले ०५८ सालमा सहकारी स्थापना गरिएको थियो । तत्कालीन पाँच गाविसका ३३ जना सेयर सदस्यले १३ हजार दुई सय रुपैयाँ सेयर पुँजी संकलन गरेर सहकारी अगाडि बढाएका थिए । संस्थाले २२औँ साधारणसभामा प्रस्तुत गरेको प्रगति प्रतिवेदनअनुसार अहिले सहकारीको सेयर सदस्य १३ हजार नौ सय ७२ र सेयरपुँजी करिब साढे १० करोड रहेको छ । 

सहकारीले क्षेत्र विस्तार र लगानी व्यापक बनाउँदै लगेको सहकारीका कार्यकारी निर्देशक अर्जुन आचार्यले जानकारी दिए । सहकारीले गुल्मीसहित पाल्पा, अर्घाखाँची, रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लामा कार्यक्षेत्र विस्तार गरेको छ । 

गुल्मीमा प्रधान कार्यालयसहित यस सहकारीले बलेटक्सार, खैरेनी, आँपचौर, इस्मा, धुर्कोट र पुर्कोटमा सेवा केन्द्र विस्तार गरेको छ । त्यस्तै, कपिलवस्तुको तौलिहवा र रुपन्देहीको बुटवलमा समेत सेवाकेन्द्र विस्तार गरिएको निर्देशक आचार्यले बताए । 

संस्थाले एक करोड ७९ लाखको आफ्नै भवन निर्माण गरेको छ । २५ पुरुष र २० जना महिला गरेर ४५ जना कर्मचारीमार्फत कार्यसम्पादन गरिरहेको छ । सहकारीले बचत संकलन तथा ऋण प्रवाह, कृषि उपजजन्य सुपथ पसल सञ्चालन, वित्तीय साक्षरता, नेतृत्व विकासलगायतका काम पनि गरिरहेको आचार्यले बताए ।

विगतमा देखिएको कोभिड– १९ को प्रभाव, वर्तमान समयमा सहकारीप्रति मानिसको फरक धारणा एवं नेपालका युवा विदेश जाने दर बढ्नु, उद्योगधन्दा, कलकारखाना, व्यवसाय बन्द हुने क्रम बढ्दै जाँदा र अहिले समग्र अर्थतन्त्रमा देखिएको आर्थिक मन्दिका बीचमा यस सहकारीले जनविश्वास बढाउँदै लगेको अध्यक्ष गोपालबहादुर सुनारले बताए । 

See More On

सुझावित समाचार