सइभन्दा वरिष्ठ सइको तलब २६२ रुपैयाँ कम

शुक्रबार, २६ पुष, २०८०
डिजिटल संस्करण

दरबन्दी थपेर बढुवा गरियो, दुई वर्षसम्म तलबमान मिलाइएन

रुपन्देही सिद्धार्थनगर नगरपालिका– ६ का ४५ वर्षीय रामकरन गुप्ता नेपाल प्रहरीको सइमा बढुवा भएको १८ वर्षपछि बल्ल वरिष्ठ सइमा बढुवा भए । बढुवासँगै तलबसहित सेवा–सुविधा पनि बढेको हुनुपर्ने उनको स्वाभाविक बुझाइ थियो । तर, त्यसो भएन । तलब त उल्टो घटेर आयो ।

प्रहरी नियमावली, २०७१ को दफा १४६ को उपदफा २(ख)मा ‘साबिक पदमा पाइरहेको तलब बढुवा भएको पदको सुरु तलबभन्दा बढी भएमा माथिल्लो पदको तलब निर्धारण गर्दा हाल पाइआएको तलब नपुगसम्मको वृद्धि थप गरी माथिल्लो पदको तलब वृद्धि गर्ने’ उल्लेख छ । अर्थात् बढुवापछिको तलब साबिक पदको भन्दा कम भए अनिवार्य रूपमा वृद्धि गरिनुपर्छ ।

कानुनको सोही प्रावधान कार्यान्वयनको माग गर्दै गुप्ता प्रहरी प्रधान कार्यालय पुगे । आइजिपीलाई भेटे । गृह मन्त्रालय धाए, गृहमन्त्रीलाई भेटे । तर, माग सुनुवाइ नै नभई उनले पदबाट अनिवार्य अवकाशमा जानुपर्‍यो ।

सम्भवतः यो समस्या चाँडै समाधान हुन्छ : डिआइजी कुवेर कडायत, प्रवक्ता, नेपाल प्रहरी
वरिष्ठ सइको तलब सइको भन्दा दुई सय ६२ रुपैयाँ कम छ । यो ग्रेड मिलानमा समस्या हुँदा हुन गएको हो । त्यस्तै, सहायक हवल्दार र वरिष्ठ हवल्दारको पनि समस्या त्यस्तै छ । हामीले गृह हुँदै अर्थ मन्त्रालयमा लेखापढी गरी पठाएका छौँ । सम्भवतः यो समस्या चाँडै समाधान हुन्छ ।

एउटै पदमा बहाल भएको १८ वर्षपछि वरिष्ठ सइमा बढुवा हुँदा झापा मेचीनगर नगरपालिका– १० का ५२ वर्षीय सुफतमान राईलाई पनि लागेको थियो, अब तलबसहित सेवा–सुविधा पनि बढेर आउँछ । तर, तलब झन् घटेर आएपछि उनी निराश बने । गुनासो लिएर उनी पनि प्रहरी प्रधान कार्यालयदेखि गृह मन्त्रालयसम्म पुगे । तर, माग सुनुवाइ नभईकनै अनिवार्य अवकाशमा गए । मोरङ सुनबर्सी नगरपालिका– ६ का ओमप्रकाश शाक्यको पनि वरिष्ठ सइमा बढुवा भएपछि सइमा खाइपाई आएको तलबभन्दा दुई हजार ६ सय ६ रुपैयाँ घटेर तलब आयो । उनले पनि गुनासो लिएर विभागीय प्रमुख आइजिपीदेखि गृहमन्त्रीसम्मलाई भेटे । तर, माग सुनुवाइ भएन । अन्ततः उनी पनि सेवाबाटै अनिवार्य अवकाशमा जानुपर्‍यो । 

पीडितमध्येका नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ सइ गुप्ताका अनुसार यो एक वा दुईजनाको मात्र नभई नेपाल प्रहरीमा बहाल एक हजार चार सय १८ वरिष्ठ सइको साझा समस्या हो । जो बढुवापछि पनि साबिक पदको भन्दा कम तलब खानुपर्ने बाध्यतामा छन् । ‘एउटै पदमा रहेको १८ वर्षपछि बल्लतल्ल वरिष्ठ सइमा बढुवा भइयो । बढुवासँगै तलब र सेवा–सुविधा पनि बढ्ला भन्ने आशा थियो । तर, त्यसो भएन,’ उनले भने, ‘हाम्रो तलब त उल्टो घटेर पो आयो । यस सम्बन्धमा आइजिपीलाई ध्यानाकर्षण गरायौँ । गृहमन्त्रीलाई भेटेर समस्या बतायौँ । तर, हाम्रो पीडा कसैले सुनेनन् ।’

तल्लो दर्जामा बढुवा समस्या जटिल बनेपछि नेपाल प्रहरीले प्रहरी संगठनमा सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सइको नयाँ दरबन्दी सिर्जना गरेको थियो । जसअनुसार २० चैत ०७८ मा एक हजार चार सय १८ सइलाई वरिष्ठ सइमा बढुवा गरिएको थियो । त्यतिखेर उनीहरूलाई बढुवासँगै तलब र सेवा–सुविधा पनि बढ्ने भनिएको थियो । तर, त्यसो हुन सकेन । 

प्रहरीका अवकाशप्राप्त वरिष्ठ सइ शाक्यका अनुसार ०७८ मा सइको तबल स्केल ३० हजार दुई सय थियो । त्यसमा उनीहरूले एक हजार सातका दरले आठ ग्रेडसम्मको थप सुविधा पाउँथे । यसरी उनीहरूले प्रतिमहिना एकमुस्ट ३८ हजार दुई सय ५६ रुपैयाँ तलब बुझ्थे । 

वरिष्ठ सइमा बढुवा भएपछि भने तबलमान ३५ हजार ६ सय ५० रुपैयाँ तोकियो । त्यसमा एक हजार एक सय ८९ रुपैयाँको एक ग्रेड सुविधा थपिने भनिएको थियो । तर, त्यसो भएन । बढुवापछि खाइपाई आएकोमा दुई हजार ६ सय ६ रुपैयाँ घटेर प्रतिमहिना ३५ हजार ६ सय ५० रुपैयाँ तलब प्राप्त हुन थाल्यो ।

प्रहरी नियमावली, २०७१ को दफा १४६ को उपदफा २(ख) अनुसार सुविधा प्राप्त नभएपछि पीडित वरिष्ठ सइ एकजुट भएर समस्या सम्बन्धित निकायमा सुनाए । नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन, २०७८ ले दिएको सुझावअनुसार ०७८/८९ को नयाँ तलबमान आएसँगै समस्या समाधान हुने आश्वासन उनीहरूले पाए । यसपटक भने समस्या समाधान हुनेमा उनीहरू आशावादी थिए । तर, त्यसो भएन, तलब घटेर नै आयो । 

नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ सइ गुप्ताका अनुसार ०७८/८९ को नयाँ तलबमानअनुसार सइले ग्रेडवृद्धिसहित प्रतिमहिना ४३ हजार नौ सय ९४ रुपैयाँ तलब बुझ्छन् । तर, वरिष्ठ सइले प्रतिमहिना ग्रेडवृद्धिसँगै ४३ हजार सात सय ३२ रुपैयाँ मात्रै तलब बुझ्दै आएका छन् । यो सइको भन्दा वरिष्ठ सइको तलब दुई सय ६२ रुपैयाँले कम हो । 

‘अहिले सइको भन्दा वरिष्ठ सइले दुई सय ६२ रुपैयाँ कम तलब बुझ्दै आएका छन् । यो कानुनविपरीत छ । नेपाल प्रहरीको फ्रन्टलाइनमा खटिने जुनियर प्रहरी अधिकृतमाथिको यो घोर अन्याय हो । यसलाई सरकारले सच्याउनुपर्छ,’ गुप्ताले भने ।

गुप्ताका अनुसार तलबमानमा समस्या नभए पनि ग्रेड प्राप्तिमा सहायक हवल्दार र वरिष्ठ हवल्दारले पनि समस्या झेलिरहेका छन् । हाल बहाल रहेका सहायक हवल्दार र वरिष्ठ हवल्दारमध्ये सुरुमा बढुवा भएकाहरूले कानुनअनुसार प्राप्त गर्नु पर्ने ग्रेड अझै पाउन सकेका छैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सइमा ग्रेड मिलानमा समस्या हुँदा तलबमान तलमाथि परेको बताए । ‘वरिष्ठ सइको तलब सइको भन्दा दुई सय ६२ रुपैयाँ कम छ । यो ग्रेड मिलानमा समस्या हुँदा हुन गएको हो । त्यस्तै, सहायक हवल्दार र वरिष्ठ हवल्दारको पनि समस्या त्यस्तै छ,’ उनले भने, ‘हामीले गृह हुँदै अर्थ मन्त्रालयमा लेखापढी गरी पठाएका छौँ । सम्भवतः यो समस्या चाँडै समाधान हुन्छ ।’ 

सर्वोच्चमा रिट, सरकारका नाममा कारण देखाऊ आदेश 
साबिक पदको भन्दा बढुवापछिको पदको तलबमान कम भएपछि पीडित वरिष्ठ सइहरूले सर्वोच्च अदालतमा रिट निवेदन नै दिएका छन् । गत १२ पुसमा दिइएको रिटमा सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । गत १६ र १७ पुसमा दिइएको आदेशमा १५ दिनभित्र जवाफ दिन भनिएको छ । आदेशमा भनिएको छ, ‘निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने मनासिव आधार, कारण र प्रमाण भए सोसमेत खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी प्रत्यार्थीहरूको नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा पर्ने अवधि व्यतित भएपछि नियमानुसार पेस गर्नू ।’

सुझावित समाचार