अध्यक्षले सिक्दा दुर्घटनाग्रस्त गाडीको मर्मत खर्च पालिकाले व्यहोर्ने

बिहिबार, २६ पुष, २०८०
डिजिटल संस्करण

गाडी सिक्ने क्रममा दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च गाउँपालिकाको बजेटबाट तिर्ने निर्णय भएको छ।

पालिका अध्यक्ष मोक्तानले आफूले प्रयोग गर्दै आएको प्रदेश ३–०१, ००२ झ ५१०६ नम्बरको गाडी सिक्ने क्रममा गत १ कात्तिक दुर्घटना गराएका थिए। उक्त गाडी दुर्घटनापछि मर्मतका लागि राजधानी पठाइएको थियो।

गाडी मर्मतमा पाँच लाख ५६ हजार ६ सय ३ रुपैयाँको बिल गाउँपालिकामा पेस गरिएको छ। बिलअनुसारको रकम गाउँपालिकाले नै भुक्तानी गर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष मोक्तानले शक्तिको दुरुपयोग गर्दै पालिकामा सरकारी तलब दिएर चालक भर्ना गरिए पनि अध्यक्ष मोक्तानलाई गाडीको मोह लागेसँगै आफैँले पार्किङ स्थलबाट गाडी झिकेर टोकरपुरको स्वास्थ्य चौकी क्षेत्र घुमाएर पुनः पालिकाको पार्किङ स्थानमा राखेका थिए। 

पुनः अध्यक्षले पार्किङ स्थलबाट गाडी झिकेर निकाल्न खोज्दा अकस्मात् एक्सिलेटर दाभ्दा गाडी उछिल्टिएर कान्लामा जोतिन पुगेको थियो। दुर्घटनामा अध्यक्ष सकुसल भए पनि गाडीको अघिल्लो भागमा क्षति पुगेको थियो। 

सवारीचालक अनुमतिपत्र नै नभएका अध्यक्ष मोक्तानले सरकारी गाडी सिक्ने क्रममा दुर्घटना गराएपछि उनको सामाजिक सञ्जालमार्फत चौतर्फी रूपमा विरोध भएको थियो। अध्यक्ष मोक्तानले आफ्नो शक्तिको दुरुपयोग गर्दै सरकारी गाडी दुर्घटना गराएको र उक्त गाडी मर्मत गर्दा हुने खर्च पालिका अध्यक्ष आफैँले व्यहोर्नुपर्ने माग नागरिकहरूले राखेका थिए। 

नागरिकहरूले गरेको विरोधको बेवास्ता गर्दै गाउँपालिकाले भने अध्यक्ष मोक्तानले दुर्घटना गराएको गाडीको मर्मत खर्च पनि गाउँपालिकाकै कोषबाट खर्च गर्ने निर्णय गरेको छ। गाडी सिक्ने क्रममा भएको दुर्घटनापछि गाडी मर्मतको पैसा गाउँपालिका अध्यक्ष आफैँले व्यक्तिगत रूपमा तिर्नुपर्ने माग नागरिकको छ। 
    

See More On

सुझावित समाचार