राष्ट्रिय सभाका लागि बागमतीमा एमाले उम्मेदवारद्वारा मनोनयन दर्ता

सोमबार, २३ पुष, २०८०
डिजिटल संस्करण

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट एमालेका चारजनाले उम्मेदवारको मनोनयन दर्ता गराएका छन्। सोमबार प्रदेशको राजधानी हेटौँडामा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।

एमालेका तर्फबाट बागमतीमा महिला कोटामा रोचकुमारी चौलागाईं, अन्यबाट त्रिलोचन निर्मल पौडेल, अपांगता र अल्पसंख्यकबाट विवेक देवकोटा र दलितबाट ध्रुवराज विश्वकर्माले मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभामा सत्ता साझेदार दलहरूले मिलेर उम्मेदवारी दर्ता गराउँदा एमाले भने एक्लै प्रतिस्पर्धामा छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट कुल तीन सय ४७ जना मतदाताले मतदान गर्नेछन्। जसमा प्रदेश सभाका एक सय १० जना सदस्य र पालिकाका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना रहेका छन्। 

प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका प्रमुख र उपप्रमुखको मतभार १९ छ। जसअनुसार बागमती प्रदेशमा प्रदेश सभा सदस्यको कुल मतभार पाँच हजार ८३० र पालिका प्रमुख र उपप्रमुखको कुल मतभार चार हजार ५०३ छ।
 

सुझावित समाचार