तीन घटनाका पीडितले प्रहरीमा उजुरी नदिँदा संलग्नलाई उन्मुक्ति
जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधबार एकै दिन चोरीमा संलग्न १२ जना व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न ६ ठाउँमा भएका छुट्टाछुट्टै चाेरीका घटनामा संलग्न भएकाे आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर डाँकाचोरी मुद्दा दर्ता गरेको छ ।
प्रहरीले थप अनुसन्धानका लागि १२ जनालाई हिरासतमा राखेकाे छ । यसरी डाँकाचोरी मुद्दामा एकै दिन १२ जना हिरासतमा गएको जिल्लामा नै याे पहिलो घटना हुन सक्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
कुन-कुन घटनामा को-को पक्राउ परे ?
पक्राउ पर्नेहरूमा सबैजना गुल्मी जिल्लाकै युवा छन् । इस्मा गाउँपालिका– ५ सिराराका २० वर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ मंसिरमा माधव कुँवरको लु.३६ प ५१८७ नम्बरको मोटरसाइकल र सुरेशबहादुर दमाईंको लु.५४ प १०२३ नम्बरको मोटरसाइकल चोरी गरी भागेका थिए ।
त्यस्तै, गत २८ मंसिरमा धुर्कोट गाउँपालिका– ६ धुर्कोट रजस्थलका दीनबहादुर कामीको किराना पसल चोरी गर्ने सोही स्थानका २२ वर्षीय गणेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । १५ मंसिरमा रेसुंगा नगरपालिका– ५ बर्दवासी विष्णुकुमारी जोगी कुँवरको बोका चोरी गर्ने रेसुंगा– ७ का २३ वर्षीय वीरेन्द्र परियार, मालिका गाउँपालिका– ७ का २५ वर्षीय सुनील विक र १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएर चोरी तथा डाँकासम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
५ पुसमा मदाने गाउँपालिका- ६ का ७२ वर्षीय निर्पबहादुर कुँवरको २५ हजार तथा जिन्सी सामान चाेरी गर्ने ४५ वर्षीय भूपेन्द्र कुँवर, ५ पुसमै गुल्मीदरबार गाउँपालिका- ३ निदुर बस्ने कुलबहादुर सराङकाेटी र हुमबहादुर खत्रीको घरमा जिन्सी सामानहरू चोरी गर्ने गुल्मीदरबार गाउँपालिका- १ का २८ वर्षीय हिमाल भन्ने भुवन केसी, वडा नं. ३ का ३० वर्षीय सन्दीप थापा, २२ वर्षीय आशिष बस्नेत. रेसुंगा नगरपालिका- १२ का २७ वर्षीय सन्तोष राना, धादिङ सिद्धलेख गाउँपालिका- ३ का ३५ वर्षीय पदम थापामगरलाई सामानहरूसहित प्रहरीले पक्राउ गरेर गुल्मी अदालत तम्घासबाट म्याद थप गरी थप अनुसन्धानकाे कार्य भइरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।
त्यस्तै, ९ पुसमा चन्द्रकोट गाउँपालिका- ३ धामीगारेकी ५३ वर्षीया सुन्तली थापाकोे दुई थान मोबाइल चोरी गर्ने चन्द्रकोट गाउँपालिका- २ का २८ वर्षीय रोमबहादुर सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रमुख प्रधानले १२ जनालाई पछिल्ला विभिन्न मितिमा पक्राउ गरेर हिरासतमा राखिएको बताए । प्रधानका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएका दुई सय ६० मुद्दामा २५ वटा चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दा थिए । यो आर्थिक वर्षको ११ पुससम्म एक सय दश मुद्दा मध्ये १४ वटा चोरी तथा डाँकासम्बन्धी कसुरका रहेका छन् ।
घटनामा संलग्न फेला परे, तर उजुरी परेन
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तीन चोरीका घटनामा उजुरी दर्ता नै भएका छैनन् । जसका कारण घटनामा संलग्नहरू उम्किएको पाइएको छ । प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा चोरी भएको सूचना आएपछि अनुसन्धानको क्रममा सामान र दोषीहरूको पहिचान भए पनि कानुनबमोजिम कारबाहीका लागि पीडित पक्षले जाहेरी दरखास्त नदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
धुर्कोट गाउँपालिका- ५ वस्तुकी ७१ वर्षीया सीता भण्डारीको घर फोरेर सुनका गरगहनालगायत नगद ३७ हजार चोरी भएको कसुर, चन्द्रकोट गाउँपालिका- ८ मझुवा बजारमा सूर्य बस्नेतको किराना पसल र घरबाट ९४ हजार सात सय चोरीसम्बन्धी कसुर र रेसुंगा नगरपालिका- २ साहुटोलस्थित राधाकृष्ण मन्दिरको मूर्ति चोरी भएको कसुरमा नगद, सामान र संग्लन व्यक्तिहरू पहिचान भए पनि पीडित पक्षले उजुरी नदिएका कारण कानुनअनुसार कारबाही गर्न नसकिएको प्रधानले बताए । ‘विभिन्न ६ ठाउँमा भएका चाेरीका घटनामा संलग्न १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ । तर, तीन ठाउँमा भएका घटनाका पीडितले उजुरी नै दिएनन्,’ उनले भने, ‘यस्तै प्रवृत्तिले ठूला घटना हुने गर्दछन् ।’