गाजापट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ।
गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता असरफ अल–केद्राले एक विज्ञप्तिमार्फत भिडभाड भएको आवासीय क्षेत्रमा हवाई आक्रमण भएकाले ७० जनाको मृत्यु भएको र यो संख्या थप बढ्न सक्ने बताए।
उनका अनुसार इजरायली सेनाले क्याम्पको मध्यक्षेत्रका मुख्य सडकहरूमा बमबारी गरिरहेको छ। जसले एम्बुलेन्स र नागरिक सवारीहरूलाई लक्षित स्थानहरूमा पुग्न बाधा पुगेको छ।
मृत्यु हुनेमध्ये अधिकांश महिला तथा बालबालिका रहेका तथा स्थानीय अस्पतालहरूमा थप घाइतेलाई भर्ना गर्न गाह्रो भएको स्थानीय अधिकारीले बताएका छन्।
स्रोतका अनुसार अल–मगाजी शरणार्थी शिविरबाहेक, इजरायली सेनाले मध्यगाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको छ।
प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार एजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द गरेको छ। यहाँ एम्बुलेन्स तथा उद्धार टोलीहरूको काममा समेत बाधा पुगेको छ।
इजरायली सेनाले पहिले गाजाका प्यालेस्टिनीहरूलाई खाली गर्न भनेको ठाउँहरूमध्ये अल–मगाजी पनि एक थियो।
प्यालेस्टिनी समाचार एजेन्सी वाफाका अनुसार, गत महिना इजरायलले अल–मगाजीमा बमबारी गरेको थियो। बमबारीमा ५१ जना प्यालेस्टिनीहरूको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार देखाएका तथ्यांकअनुसार, इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार चार सय २४ पुगेको छ। अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि यस क्षेत्रमा ५४ हजार ३६ जना घाइते भएका छन्।
यसैबीच, गत साताको अन्त्यमा गाजामा कुल १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ। इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको कुल संख्या एक सय ५४ पुगेको बताएको छ। रासस