मुगुमा जातीय विभेद गरेको आरोपमा दुईजना पक्राउ

सोमबार, ९ पुष, २०८०
डिजिटल संस्करण

महिला स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।मुगुको सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी  तुल्सा कुमारी विकले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी गराए ।

विकले सोरु गाउँपालिका वडा नम्बर ९ की ५४ वर्षीय झ्यापु शाही, सुरजकुमार शाही र सोही पालिकाको वडा नम्बर ६ का धनप्रसाद भट्टविरूद्ध किटानी जाहेरी दिएकी थिइन् । सोहीअनुसार धनप्रसाद भट्ट र झ्यापु शाहीलाई शनिबार पक्राउ गरिएको हो  । 

अर्को यौन हिंसा दुर्व्यवहार सम्वन्धिको मुद्दा भने जिल्ला अदालत मुगुमा दर्ताको लागि प्रकृयामा रहेको विकले बताइन् ।
दाङ जिल्लाको तुल्सिपुर घर भएकी उनी लोकसेवा आयोगबाट  ११ महिनाअघि सोरु गाउँपालिकामा अनमी पदमा  सिफारिस भएर आइन । उनलाइ गाउँपालिकाले स्वास्थ्य चौकी खनायामा रहेर कामकाज गर्न खटायो । उनलाई खनायामा स्वास्थ्य चौकीका इन्चार्ज सरोज शाहीले आफ्नो घरमा कोठा दिएर बसाले । 

‘दिनहरू बित्दै गए । केही समयपछि उहाँको आमाले मेरो जात विश्वकर्मा भएको थाहा पाएर कोठा छोड्न दबाब दिन थाल्नु भयो’, तुल्सा दुखेसो सुनाइन् ।  गाउँ भरी कोठा खोजे कसैले दिएनन् ।  अनमी विश्वकर्मा भन्छिन् ‘गाउँमा हुने जातीय भेदभाव, महिला हिंसा, दुर्व्यवहार भनेर साध्य छैन ।  अझ तल्लो जातका महिला कर्मचारीका पीडा अलगै छन् । महिला भनेपछि गाउँका केटाहरूले राती राती फोनमा सताउने, फोन  नउठाए गालीगलौज गर्ने, बास पाउन समस्या, महिनावारी भए अलग्गै बस्नु पर्ने , दूध, दही, घिउ कसैले नबेच्ने जस्ता समस्या भोग्नु पर्छ । ’

‘गाउँका महिला महिनावारी हुँदा घरभन्दा टाढा ६/७ दिनसम्म बस्छन् कसैलाई केही हुँदैन तर हामी बाहिरको महिला भएर हो या फरक जात भनेर हो युवाहरूले जिस्काउँछन्  । आफुलाइ असुरक्षा भएको महसुस हुन्छ । यति मात्रै होइन एक पटक एकजना स्टाफको जन्म दिनको पार्टीमा चिसो खादा कोकसँग मदिरा  मिसाइदिएछन् । पाटी हो भनेर सामान्य रूपमा लिएँ । त्यो बेलाको भिडियो बनाएर मेरा साथीहरू र मेरो घर सम्म पुर्याएछन् ’उनले सुनाइन् । 

सोरु गाउँपालिकामा रहेको स्वास्थ्य शाखामा आफ्ना समस्या बेलाबेलामा सुनाए  पनि  कुनै  सुनुवाइ नभएको उनको गुनासो छ । ‘अझ त्यतिबेला तत्कालीन समयमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमा खनायागाउँकै वीरेन्द्र मल्ल भन्ने व्यक्ती हुनुहुन्थ्यो । हाल उहाँ शिक्षा शाखा प्रमुख हुनुहुन्छ । उहाँलेसमेत बेलाबेला  राती १२ बजे १ बजे फोन गरेर भेट्न  आउछु, भेट्ने मन लगेको छ भनेर पटकपटक फोनमा भन्नुभयो’ बिकले बेलिविस्तार लगाइन् । ‘उहाले त आफू मातहतका कर्मचारीको अभिभावकत्व लिनुपर्नेमा उल्टै राती राती फोन गर्ने, दुर्व्यवहार गर्न थाल्नु भयो,’ म बाहिरको महिला र फरक जातको भएर यस्तो भएको महसुस भयो ।

उनका अनुसार एक पटक सोरुकोटको एउटा पसलमा  सामान किन्दा साहुजीले नाम सोधे ।  नाम र जात भन्दा उनले सामान अलग्गै राखी लिन  र पैसा पनि आफ्नो हात नछोईकन भुईँमा राख्न भने ।   ‘अर्काको ठाउँ मेरा लागि परदेशनै थियो  । जागिर खानु थियो कहीँ कतै भनिन ।  बिस्तारै सबै ठिक हुँदै जाला सोचे,’ उनले थपिन् ।   

उनी सुनाउछिन, ‘म त प्रतिनिधि पात्र मात्र हुँ । यहाँ गाउँघरमा आउने महिला कर्मचारी अझ  दलित महिला कर्मचारीहरु यी र यस्ता केही न केही दुःख भोगेकै हुन्छन्, अर्काको ठाउँ भएकाले सहेर बस्छन् । राज्यले जस्तो  कानुन बनाएपनि जति व्यवस्था फेरिए पनि जति  पढेलेखे पनि पुरानै सोच, शैली, आचरण, चाल चलन गाउँघमा यथावत् छ,’ उनले आक्रोश पोखिन् ।  

सुझावित समाचार