प्रो–क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो दिनको दोस्रो खेलमा पर्सा ११ ले वन्डर क्लब नोयडालाई ५ विकेटले पराजित गरेको छ।
नारायणी रंगशालामा भएको खेलमा नोयडाले दिएको एक सय २ को लक्ष्य पर्सा ११ ले १९.२ ओभरमा पूरा गरेको हो।
पर्सा ११ का खेलाडी पवन सर्राफले खेलको अन्तिममा आक्रामक ब्याटिङ गरेपछि पर्सा ११ विजयी भएको हो। पवनले नटआउट १३ बलमा २७ रनको योगदान गरे।
अर्का खेलाडी हासिम अन्सारीले ३९ बलमा २१ रन बनाउँदा अनिल साहले २४ बलमा २१ तथा इमरान शेखले १६ बलमा १४ रन जोडे।
नोयडाका बलर सन्जीव चतुर्वेदीले चार ओभरमा १७ रन खर्चँदै २ विकेट लिए। हर्षित सेठीले चार ओभरमा २ विकेट लिँदै १६ रन दिए। यस्तै, दिवान्स रावतले तीन ओभरमा १९ रन दिँदै एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको वन्डर क्लब नोयडाले पर्सा ११ लाई एक सय २ रनको लक्ष्य दिएको थियो। १९.५ ओभरमा अलआउट हुँदै नोयडाले एक सय १ रन बनाएको हो।
नोयडाका अल्पित गुप्ताले २६ बल खेल्दै १९ रन बनाए। यसैगरी, हर्सित सेठीले १२ बलमा १८ रन तथा तरुण बिष्टले २१ बलमा १५ रनको योगदान गरे।
खेलमा पर्सा ११ का कप्तान सन्दीप लामिछानेले चार ओभरमा १४ रन मात्रै खर्चेर २ विकेट लिए। अर्का बलर सैफुल्लाह अन्सारीले चार ओभरमा २ विकेट लिँदै ११ रन दिँदा पवन सराफले एक विकेट लिए। उनले तीन ओभरमा २८ रन दिएका थिए।
प्रतियोगितामा तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोयडा सहभागी छन्।
सिंगल राउन्ड रोबिनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ भने दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनल हुनेछ।