चीनको गान्सु प्रान्तमा मंगलबार बिहानै गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या एक सय १६ पुगेको छ।
सरकारी सञ्चारमाध्यम सिन्ह्वाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धृत गर्दै जनाएअनुसार उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिसिसान काउन्टीमा ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।
सो भूकम्पमा परी ९६ जना घाइते भएका छन् भने कैयाैँ बेपत्ता रहेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु लिनक्सिया चेंगुआन्जेन, गान्सुबाट ३७ किलोमिटर र लान्झाउ, गान्सुबाट करिब सय किलोमिटर टाढा रहेको थियो। भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ।
उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी छ।